एक एआई रिसर्चर, जसका लागि मेटाले खर्चियो ३५ अर्ब
२४ वर्षका युवालाई झण्डै नेपाली ३५ अर्ब रुपैयाँको अफर ।
पहिला साढे १७ अर्ब रुपैयाँको अफर गर्दा त उनले सिधै रिजेक्ट गरिदिए । त्यसपछि त्यो भन्दा दोब्बर रकमको अफर पाएपछि भने उनले स्वीकार गरे ।
ती युवक सामान्य मान्छे होइनन्, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई रिसर्चर हुन् । तीनै एआई रिसर्चर म्याट डाइटकीलाई ३५ अर्ब रुपैयाँ अर्थात् २५० मिलियन अमेरिकी डलरको प्रस्ताव गर्ने व्यक्ति हुन् मार्क जकरबर्ग ।
अन्तत मार्क जकरबर्गको प्रस्ताव स्वीकार गर्दै म्याट डाइटकी मेटा सुपर इन्टेलिजेन्स ल्याबमा काम गर्न तयार भए ।
सुरुमा उनलाई मेटाले १२५ मिलियन डलरको अफर गरेको थियो । उनले अस्वीकार गरेपछि मेटाका सीईओ मार्क जकरबर्ग आफैंले भेट गरेका थिए । त्यसपछि उनलाई पहिलेको भन्दा डबल अर्थात् २५० मिलियन डलरको अफर गरेका थिए ।
तर म्याट डाइटकीले यो अफर पनि तत्काल स्वीकार गरेनन् । उनले साथीहरुसँग सल्लाह गरेर निर्णय गर्ने बताए । अनि केही समयपछि उनले जकरबर्गको प्रस्ताव स्वीकार गरे ।
यो रकम कुनै पनि एक जना रिसर्चरका लागि दिइएको अहिलेसम्मकै ठूलो अफर भएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् । यो रकम डाइटकीलाई ४ वर्षका लागि दिइएको हो । तर पहिलो वर्ष नै उनले १०० मिलियन डलर अर्थात १४ अर्ब नेपाली रुपैयाँ पाउनेछन् ।
मेटा र डाइटकीको यो सम्झौताले ठूला टेक कम्पनीहरु कसरी एआई ट्यालेन्टलाई भित्र्याउन प्रतिस्पर्धा गरिरहेका छन् भन्ने देखाएको छ ।
को हुन् त म्याट डाइटकी ?
म्याट डाइटकी एआई रिसर्चको क्षेत्रमा परिचित नाम हो । उनी वासिंटन विश्वविद्यालयमा कम्प्युटर साइन्समा पीएचडी कार्यक्रमका लागि भर्ना भएका थिए, तर बीचैमा छाडिदिए ।
त्यसपछि उनी सियाटलको एलेन इन्ष्टिच्युट फर एआईमा भर्ना भए । त्यहाँ उनले एआई च्याटबट मोल्मो डेभलप गर्न मुख्य भूमिका निर्वाह गरे । यो एआई च्याटबटले केवल टेक्स्टमात्र प्रोसेस गर्दैन, इमेज र अडियोहरु पनि प्रोसेस गर्छ ।
ल्याङ्ग्वेज बेस्ड मोडल भन्दा फरक मोल्मो, भिडियो र अडियो डेटाका आधारमा तर्क गर्नका लागि बनाइएको थियो । मान्छेजस्तै एआई बनाउने एउटा महत्वाकांक्षी योजनामा मोल्मो बनेको थियो र त्यसले सफलता पनि हासिल गर्यो ।
डाइटकीले थ्रीडी डेटासेट र एआईमा गरेको कामको आधारमा सन् २०२२ मा न्यूरो आईपीएसको आउटस्याट्यान्डिङ पेपर अवार्ड हात पारेका थिए ।
गत नोभेम्बरमा डाइटकीले गुगलका पूर्व सीईओ इरिक स्म्याटसँग मिलेर भरसेप्ट नामको स्टार्टअप सुरु गरेका थिए ।
०००
मेटाले फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता सोसल मिडिया प्लेटफार्म सञ्चालन गर्र्दै आइरहेको छ । यसका सीईओ मार्क जकरबर्ग मेटालाई आर्टिफिसियल इन्टेलिजेन्समा ग्लोबल लिडर बनाउन चाहन्छन् ।
त्यसका लागि उनले विश्वभरका टप ट्यालेन्टलाई भित्र्याउने योजना बनाएका छन् । त्यस क्रममा उनी २४ वर्षका म्याट डाइटकीबाट प्रभावित भएका हुन् ।
एक रिपोर्टका अनुसार मेटाले आफ्नो सुपर इन्टेलिजेन्स रिसर्च टिम बनाउन १ बिलियन डलर खर्च गर्दैछ । जसमा ओपन एआई, एन्थ्रोपिक, एप्पल र गुगलमा काम गरिसकेका एआई ट्यालेन्टहरुलाई समावेश गर्ने योजना छ ।
मेटाको सन् २०२५ को खर्च ७२ बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो अघिल्लो वर्ष भन्दा करिब ३० बिलियन डलरले बढी हो ।
आलोचकहरुले भने एआई विकास गर्न सक्ने सामथ्र्य भएका कम्पनी र व्यक्तिमा शक्ति केन्द्रित हुनु चिन्ताको विषय भएको बताएका छन् ।
ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य
५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?
इमरानलाई महंगो पर्यो सेनासँगको लडाईं, मुनिरले लिइरहेका छन् बदला









