ट्रम्पको हेपाहा व्यवहारले क्रुद्ध मोदी, कसरी देलान् जवाफ ?
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकाल निर्वाचित हुँदा धेरै खुशी हुने विश्व नेतामध्ये एक थिए नरेन्द्र मोदी ।
ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि पहिलो पटक ह्वाइट हाउस नै पुगेर बधाई दिने विश्व नेता नरेन्द्र मोदी नै थिए ।
दुबै नेताले पटक पटक भनेका पनि थिए कि उनीहरु राम्रा साथी हुन् । तर ६ महिनामै नयाँ दिल्ली अचम्ममा परेको छ ।
डोनाल्ड ट्रम्पले अगस्ट १ मा भारतीय समानमा २५ प्रतिशत भन्सार कर घोषणा गरे । अगस्ट ६ मा थप २५ प्रतिशत कर घोषणा गरेर ५० प्रतिशत पुर्याइदिए ।
ट्रम्पको यस्तो हेपाहा व्यवहार देखेर भारत चित खाएको छ । क्रोधित छ । दुई मित्र देशबीच एकाएक किन भयो यस्तो ? के अमेरिका र भारतको सम्बन्ध बिग्रनुमा रुस फ्याक्टर निर्णायक हो ? अनि, अमेरिकासँग सम्बन्ध सुधान रुससँग सम्बन्ध तोड्ला ?
डोनाल्ड ट्रम्पले गत अप्रिलमै भन्सार कर घोषणा गरेर विश्वलाई नै तनाव दिएका थिए । त्यो घोषणापछि विश्वका धेरै देशले अमेरिकासँग व्यापार सम्झौता गरे । भारत पनि अमेरिकासँग व्यापारसम्बन्धी वार्तामा थियो ।
पाँच राउण्डसम्म वार्ता भएपछि भारतीय अधिकारीहरु अमेरिकासँग व्यापार सम्झौता आफू अनुकुल हुनेमा धेरै आशावादी थिए । उनीहरुले सञ्चार माध्यमहरुलाई अमेरिकाले १५ प्रतिशत भन्सार शुल्क लगाउन सक्ने बताएका थिए ।
भारत विश्वस्त हुनुको अर्को आधार पनि थियो । व्यापार मन्त्री पियुष गोयलको अमेरिका भ्रमण र अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको दिल्ली भ्रमणले दुई देशको सम्बन्धलाई अझै नजिक बनाएको भारतको विश्वास थियो ।
भारतीय अधिकारीहरुले ट्रम्पले अगस्ट १ भन्दा एक हप्ता अगाडि नै व्यापार सम्झौता घोषणा गर्न सक्ने अनुमान गरेका थिए । तर त्यस्तो केही भएन ।
बरु भारतलाई सरप्राइज दिने गरी अमेरिकाले शुक्रबार अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क लगाएको घोषणा गर्यो । झन् अगस्ट ६ मा थप २५ प्रतिशत कर घोषणा गरेपछि त भारत पुरै जिल्लिएको छ ।
अमेरिकाले भारतलाई लगाएको कर दक्षिण एसियाका अरु देशलाई लगाएको भन्दा बढी हो ।
अमेरिकाले बंगलादेशलाई २० प्रतिशत, पाकिस्तानलाई १९ प्रतिशत र नेपाललाई १० प्रतिशत भन्सार शुल्क लगाएको छ ।
अमेरिका र भारतबीच करिब १९० बिलियन डलरको व्यापार हुन्छ । भारतले अमेरिकाबाट जति सामान किन्छ, त्यो भन्दा दोब्बर मूल्यको सामान अमेरिकालाई बेच्छ ।
यसरी अमेरिकालाई सामान बेच्नेमा भारत अग्रणी स्थानमा छ । तर भन्सार कर बढाउँदा अमेरिकामा भारतीय सामान धेरै नै महंगो पर्न जान्छ र कालान्तरमा भारतको सामान अमेरिकामा बिक्री नै नहुने स्थिति पनि आउन सक्छ ।
अमेरिकाले भारतीय समानमा कर बढाउनुको कारण भने तेस्रो देश रुस हो ।
डोनाल्ड ट्रम्प रुस र युक्रेनबीचको युद्ध रोक्न पुनः वार्ता सुरु होस् भन्ने चाहन्छन् । तर रुस तयार छैन । त्यसैले उनी रुसलाई समस्यामा पार्ने उपायको खोजीमा छन् । त्यहीक्रममा उनको नजर भारतमाथि पर्यो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै चलाखीपूर्वक अमेरिका र रुस दुबैसँग सुमधुर सम्बन्ध राखिरहेका थिए । अनि रुस युक्रेन युद्धको मामिलामा भने तटस्थ भूमिका देखाएका थिए । अब ट्रम्प, मोदीलाई यो छुट दिने पक्षमा छैनन् । उनी नरेन्द्र मोदीलाई वार कि पार गराउन चाहन्छन् । त्यसका लागि उनले करलाई अस्त्रको रुपमा प्रयोग गरे ।
भन्सार कर बढाउनुको कारण ट्रम्पले प्रष्ट भनिसकेका छन्, भारतले रुसबाट तेल किन्छ ।
भारतले तेल किन्नु भनेको युक्रेनविरुद्धको युद्धमा रुसलाई आर्थिक सहयोग गर्नु भएको ट्रम्पको आरोप छ । ‘रुसको वार मेसिनका कारण कति युक्रेनीको ज्यान गइसक्यो भन्ने कुरा उनीहरुले मतलब गरेका छैनन्’ ट्रम्पले सोमबार भनेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले एक टेलिभिजन अन्तर्वातामा भारतले रुसबाट तेल किनेमा थप कर लगाउने चेतावनी दिएपछि ४ अगस्टमा भारतको विदेश मन्त्रालयले जवाफ फर्काएको थियो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा भनेका थिए, अरु ठूला देश जस्तै भारत पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक कदम चाल्न सक्छ ।’
भारतले कति किन्छ रुसबाट तेल ?
भारत पेट्रोलियम पदार्थ खपतमा विश्वको तेस्रो देश हो । उसले सन् २०३० सम्म पेट्रोलियम खपतमा चीनलाई पनि जितेर पहिलो हुने दौडमा छ ।
सन् २०२२ मा रुस र युक्रेनबीच युद्ध सुरु भएपछि धेरै युरोपेली देशहरुले रुसबाट तेल किन्न छाडेका थिए । तर भारत र चीनले रुसबाटै किनिरहेका छन् । अझ भारतले त रुस–युक्रेन युद्धपछि नै रुसबाट पेट्रोलियम खपत अत्यधिक बढाएको छ ।
सन् २०२१ मा भारतले रुसबाट ८.२५ बिलियन डलरको सामान आयात गरेको थियो, जसमा पेट्रोलियम पदार्थ जम्मा २.३१ बिलियन डलरको मात्र थियो ।
सन् २०२४ मा ६५.७ बिलियन डलरको सामानहरु आयात गरेको थियो । त्यसमध्ये ५२.२ बिलियन डलरको त पेट्रोलियम पदार्थ मात्र थियो ।
जवाहरलाल नेहरु विश्वविद्यालयका एसोसिएट प्रोफेसर अमिताभ सिंहका अनुसार भारतले रुसबाट जनु मूल्यमा क्रुड आयल किन्छ, त्यो निकै सस्तो छ । यति सस्तोमा अरु कुनै पनि देशले भारतलाई तेल दिन सक्दैन ।
यसको प्रष्ट अर्थ हो, भारतले आफ्नो व्यापारिक लाभ हेरेर नै रुसबाट तेल किनिरहेको छ ।
अर्को समस्या के पनि छ भने भारतले रुसबाट तेल किन्न एक्कासी बन्द गर्दा आपूर्तिमा ठूलै समस्या आउनेछ । किनकी एकै दिनमा ३४ लाख ब्यारेल कच्चा तेल अरु कुनै देशले भारतलाई दिइहाल्न सक्दैनन् ।
भारतले किन्ने तेलमा रुसको हिस्सा करिब ३५ प्रतिशत छ, त्यसपछि इराकको १९.१ प्रतिशत, साउदीको १४ प्रतिशत, युएईको ९ प्रतिशत, र अमेरिकाको ४.६ प्रतिशत छ ।
भारतले रुसबाट आफ्नो खपतका लागि मात्र तेल किन्दैन । उसले कच्चा तेल किनेर त्यसलाई रिफाइन गरेर निर्यात पनि गर्दै आएको छ । नेशनल ब्यूरो अफ एसियन रिसर्चका अनुसार सन् २०२३ मा भारतले ८६.२८ बिलियन डलरको रिफाइन्ड तेल निर्यात गरेको थियो । भारतबाट रिफाइन तेल किन्नेमा युरोप, अमेरिका र बेलायत समेत रहेका छन् ।
भारत र रुसको सम्बन्ध
अमेरिका र सोभियत संघबीचको शीतयुद्धको बेलादेखि नै भारत आधिकारिक रुपमा असंलग्न राष्ट्र हो ।
सन् १९७० को दशकदेखि भने भारतले रुससँग सम्बन्ध राख्न थालेको थियो ।
अमेरिकाले आफ्नो छिमेकी तथा प्रतिद्वन्द्वी पाकिस्तानलाई सैन्य र आर्थिक सहायता दिन थालेपछि भारतले पनि रुससँग सम्बन्ध अघि बढाएको थियो । त्यसपछि भारतले रुसबाट हतियार पनि किन्न थाल्यो ।
अमेरिकाले एसिया प्यासेफिक क्षेत्रमा चीनको उदयलाई काउन्टर दिने शक्तिको रुपमा भारतलाई मुख्य साझेदार मान्दै आएको छ ।
तर नयाँ दिल्लीले रुससँग निरन्तर रक्षा र ऊर्जासम्बन्धी सम्बन्ध कायम राख्दा अमेरिकालाई सहन कठिन भएको छ ।
युक्रेनसँगको युद्धका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ आदेश जारी गरेको छ । पश्चिमा देशहरुले पनि रुसलाई बेवास्ता गरेका छन् ।
तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने गत वर्ष जुलाईमा रुसको दुई पटक भ्रमण गरे । रुसले पनि मोदीलाई सर्वोच्च नागरिक सम्मानबाट अभिनन्दन गर्यो ।
अहिले पनि भारत रुसी हतियारको प्रमुख आयातकर्ता हो । उनीहरुबीच मिसाइल र न्युक्लियर सामानहरु आदान प्रदान पनि हुँदै आएको छ ।
अमेरिका–भारत सम्बन्ध व्यापारसँग मात्र सम्बन्धित छैन । भूराजनीतिक पनि छ । अमेरिकाले पाकिस्तानसँग सम्बन्ध बढाएकामा भारत असन्तुष्ट छ ।
गत अप्रिल २२ मा भारतको काश्मिरमा २६ जनाको मृत्यु हुने गरी भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर आक्रमण जारी राखेको थियो । पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो । पछि दुबै देशबीच युद्धबिराम घोषणा भयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले आफूले दुई देशबीच युद्धबिराम गराएको दाबी गरेका थिए । भारतले भने काश्मिरलाई लिएर पाकिस्तानसँग हुने विवादलाई आन्तरिक मामिला भन्दै आएको छ र तेस्रो देशको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ । यस्तो अवस्थामा ट्रम्पले आफ्नो कारण युद्धबिराम भएको भनेकामा भारत असन्तुष्ट छ ।
गत मे महिनामा भारत र पाकिस्तानबीच युद्धबिराम भएपछि ट्रम्पले ह्वाइहाउसमा पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई स्वागत गरिसकेका छन् ।
यो अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेनापतिलाई स्वागत गरेको पहिलो घटना हो । जबकी पाकिस्तानी सेनापति हेड अफ स्टेट पनि होइनन् । ट्रम्पले आतंककारीलाई पक्रन मद्दत गरेको भन्दै पाकिस्तानी आर्मीको प्रशंसा गरेका छन् ।
पाकिस्तानी सरकारले पनि डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ । ट्रम्पले भारत र पाकिस्तानबीचको संकट समाधान गर्न सार्थक कुटनीतिक हस्तक्षेप गरेको भन्दै पाकिस्तानले उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ ।
पाकिस्तानी सेनापति मुनिरसँगको भेटको भोलिपल्ट ट्रम्पले मोदीलाई फेन्टास्टिक म्यान भनेका थिए । तर युद्धविरामका लागि निकै प्रभावकारी भएको भन्दै पाकिस्तानी सेनापति मु्निरको झन् धेरै प्रशंसा गरे ।
‘मलाई पाकिस्तान मन पर्छ’, ट्रम्पले पटक पटक भनेका थिए, ‘मैले पाकिस्तान र भारतबीचको युद्ध रोकेँ ।’
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफार्म ट्रुथमा पाकिस्तानमा तेल भण्डारहरु बनाउन सहमति भइसकेको बताएका थिए । उनले यतिसम्म भनेका थिए कि, ‘कसलाई के थाहा ? उनीहरुले कुनै दिन भारतलाई तेल बेच्नेछन् ।’
गत फेब्रुअरीमा मोदीले ट्रम्पलाई भेट्नुभन्दा केही दिनअघि अमेरिकामा भारतीय नागरिकलाई साङ्लाले बाँधेर सैनिक विमानतर्फ लगिरहेको दृश्य सार्वजनिक भएको थियो ।
यो दृश्यले आफ्ना नागरिकप्रति अमेरिकाले गरेको व्यवहारलाई लिएर भारतमा आक्रोश देखिएको छ ।
त्यस बाहेक व्यापार वार्तामा अमेरिका र भारतबीच कुरा नमिलेका कारण पनि यो स्थिति आएको भारतीय अधिकारीहरुले बताएका छन् ।
बीबीसीका अनुसार भारतले अमेरिकालाई औद्योगिक सामानमा कुनै कर नलगाउने, कार र मदिरामा चरणवद्ध रुपमा कर घटाउने प्रस्ताव गरेको थियो । त्यस्तै इलन मस्कको स्टार लिंकलाई भारतमा सञ्चालन गर्न दिने सम्झौतामा पनि हस्ताक्षर गर्यो ।
तर अमेरिकाले भारतसँग ४५ अर्ब व्यापार घाटा कम गर्न भन्दै भारतको कृषि र डेरी क्षेत्रमा प्रवेश गर्न चाह्यो । तर यो कुरा भारतले मानेन ।
किनभने अहिले पनि भारतको रोजगारीको ४५ प्रतिशत क्षेत्र कृषि क्षेत्रबाट छ । यसमा भारतले अमेरिकालाई प्रवेश गर्न नदिएपछि अमेरिका चिढिएको हो ।
कतिपय विश्लेषकहरु भने अमेरिका र भारतको सम्बन्ध यही कारण नबिग्रने बताउँछन् । अहिले पनि अमेरिका र भारतले सूचना प्रविधि, शिक्षा र रक्षासम्बन्धी धेरै योजनामा सँगसँगै काम गरिरहेका छन् ।
भारतका धेरै आईटी फर्महरुले अमेरिकामा लगानी गरेका छन् । सिलिकन भ्यालीका धेरै फर्महरु भारत सञ्चालनमा छन् । यस आधारमा भन्न सकिन्छ, दुई देशको सम्बन्धको जरा धेरै गहिरो छ ।
तर अमेरिकाले गरेको क्रियाको प्रतिक्रिया भारतले कसरी दिन्छ त्यो भने धेरैको चासोको विषय छ ।
यसअघि गत दुई महिनाअघि अमेरिका र चीनबीच पनि यस्तै व्यापार युद्ध चलेको थियो । अमेरिकाले कर बढाउँदा चीनले पनि त्यही दरमा कर बढाएको थियो । कर बढाउँदै जाँदा अमेरिकाले चीनमाथि १४५ प्रतिशत कर र चीनले अमेरिकामाथि १२५ प्रतिशत कर लगाएको थियो । व्यापार वार्तामा दुबै देशले ११० प्रतिशत विन्दुले कर घटाउने सहमति गरेका थिए ।
अब अमेरिका र भारतबीच पनि त्यस्तै हुने हो कि ? त्यो चाहिँ दुई देशको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने कुराले निर्धारण गर्छ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)