कोरियामा आर्मीमा भर्ती हुने युवा पाउनै मुश्किल
मजबुत अर्थ व्यवस्था, एड्भान्स टेक्नोलोजी र सबल सैन्य शक्तिका कारण दक्षिण कोरियालाई शक्तिशाली मुलुकमै गणना गरिन्छ । दक्षिण कोरिया, विभिन्न सूचकमा उच्च स्थानमा छ र, पूर्वी एसिया र बाँकी विश्वमा बलियो प्रभाव छ ।
बलियो सैन्य संरचनाका कारण दक्षिण कोरियाको सेना विश्वमै टप ५ भित्र पर्ने गर्छ । तर त्यही सेनामा भर्ती हुने युवाको अभाव हुन थालेको छ ।
हाल दक्षिण कोरियामा ४ लाख ५० हजार सैनिक रहेको त्यहाँको रक्षा मन्त्रालयको रिपोर्ट सार्वजनिक भएको छ । मन्त्रालयका अनुसार यो संख्या मुलुकलाई चाहिने सैनिक संख्या भन्दा ५० हजार कम हो । जसमध्ये अफिसर लेभलमै २१ हजार सेना कम छ ।
दक्षिण कोरियाको छिमेकी उत्तर कोरिया आणविक शक्ति सम्पन्न मानिन्छ । उत्तरसँग करिब १३ लाख सैनिक रहेको अनुमान गरिएको छ । दुई कोरियाबीच सत्रुतापूर्ण सम्बन्ध रहेकाले दक्षिण कोरिया सधैं सुरक्षा चुनौतीमा रहेको देश मानिन्छ ।
त्यही कारण दक्षिण कोरियायाले १८ वर्ष पुगेका नागरिकले अनिवार्य सैनिक सेवा गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तो अनिवार्य सेवा २ वर्षसम्म लामो हुन्छ । अधिकांश कोरियन युवाले २० वर्षभित्रै अनिवार्य सैनिक सेवा पूरा गरिसक्छन् ।
युवाहरु हाइस्कुलको पढाइ सकेपछि एक वा दुई वर्षमा विश्वविद्यालयको पढाइ सक्छन्, त्यसपछि सैनिक सेवामा सहभागी हुन्छन् । स्थल सेना र समुद्री सेनामा हो भने २१ महिना सेवा गर्नुपर्छ । नौसेनामा २३ महिना र हवाइ सेनाका लागि २४ महिनाको अनिवार्य सेवा गर्नुपर्छ ।
तैपनि सेनामा जनशक्तिको अभाव छ । किनकी अनिवार्य सैनिक सेवा गरेका युवा त्यसपछि भने सेनामा काम गर्न इच्छुक हुँदैनन् । उनीहरु अन्य पेशामा जान्छन् ।
त्यसैले सेनाको आकार घट्दो छ । दक्षिण कोरियामा सन् २००० सम्म ६ लाख ९० हजार सैनिक थिए । सन् २०१० सम्म कोरिया मुस्किलले सैनिक संख्या यही हाराहारी राख्न सफल भएको थियो । तर तर २०१९ मा आइपुग्दा ५ लाख ६३ हजारमा झर्यो ।
सन् २०२५ मा आउँदा ४ लाख ५० हजारमा सीमित भयो । सन् २०१९ देखि २०२५ को बीचमा मात्र कोरियामा सेनाको संख्या १ लाख १३ हजारले घटेको छ । यो अवधिमा मैदानमा खटिने सिपाहीको संख्या त ३ लाखबाट २ लाखमा झरेको छ ।
जबकी उत्तर कोरियाको सम्भावित आक्रमणबाट जोगाउन दक्षिण कोरियालाई कम्तीमा ५ लाख सैनिक चाहिने गत जुलाइमा सार्वजनिक गरेको एक अध्ययनले देखाएको थियो ।
कोरियाको सेनामा भर्ती हुनेको संख्या घट्नुको एउटा कारण बच्चा नै कम जन्मिनु पनि मानिएको छ ।
दक्षिण कोरियाको इतिहासमा सबभन्दा धेरै जनसंख्या सन् २०२० मा ५ करोड १८ लाख पुगेको थियो । त्यसपछि क्रमशः घटिरहेको छ । २० वर्षका युवाको संख्या सन् २०१९ यता ३० प्रतिशतले घटेको छ । सन् २०२५ मा २० वर्षका युवाको संख्या २ लाख ३० हजार छ ।
कोरियामा लामो समयदेखि जन्मदर निरन्तर घटिरहेको छ । सन् २००० यता जन्मदर प्रति महिला १.४ शिशु भन्दा माथि पुग्न सकेको छैन ।
जन्मदर घट्दै घट्दै सन् २०१८ मा ०.९८ मा आइपुग्यो । अर्थात कोरियामा प्रति १०० महिलामा ९८ जनाले मात्र बच्चा जन्माउँथे, त्यो पनि एउटा मात्र । सन् २०२० मा जन्मदर ०.८४, सन् २०२३ मा ०.७२ र सन् २०२४ मा ०.७५ रहेको छ । यही अनुपातमा जन्मदर घट्ने हो भने न् २०७२ मा यहाँको जनसंख्या घटेर ३ करोड ६२ लाखमा झर्ने सरकारकै अनुमान छ ।
जनसंख्या विज्ञहरुले त आगामी ६० वर्षमा दक्षिण कोरियाको जनसंख्या आधा नै घट्नसक्ने चेतावनी दिएका छन् ।
जनसंख्या घट्दै गएपछि कोरियाले आफूलाई चाहिने जनशक्ति विदेशबाट लिने गरेको छ । कृषि, उत्पादनमूलक उद्योग, होटल र निर्माण क्षेत्रमा काम गर्न हजारौंको संख्यामा नेपालीहरु काम गरिरहेका छन् । नेपालीहरुका लागि कोरिया आकर्षक श्रम गन्तव्य पनि हो ।
तर कोरियाले विदेशी नागरिकलाई सैनिक सेवामा लगाउँदैन । सेनामा भर्ती हुन कोरियाली नागरिक नै हुनुपर्छ ।
त्यसैले पछिल्लो समय महिलाहरुलाई पनि अनिवार्य सैनिक सेवामा लगाउनुपर्ने आवाज उठ्न थालेको छ ।
तर त्यहाँको संवैधानिक अदालतले २०१४ मा पुरुषलाई मात्र सैनिक सेवा अनिवार्य गर्ने व्यवस्थालाई सदर गरेको थियो । महिलाहरुको रजस्वला, गर्भावस्था जस्ता शारीरिक विशेषताका कारण सैन्य प्रशिक्षक कठिन हुने अदालतको ठहर थियो ।
तर पुरुषलाई मात्र राष्ट्रिय कर्तव्य पूरा गर्न योग्य ठानेको, महिला र पुरुषबीच विभेद गरेको भनेर यसको आलोचना हुन थाल्यो । पछिल्लो समय राजनीतिक तहमा पनि यो बहस हुन थालेको छ ।
सैन्य सेवालाई पूर्ण स्वेच्छिक बनाउने वा सबैका लागि न्यूनतम सैन्य तालिम अनिवार्य गराउनुपर्ने आवाजहरु उठ्न थालेको छ । तर प्रमुख राजनीतिक दलहरुले यो कदमलाई निराशालाई क्रस गर्न खोजेको अर्थमा लिए र स्वीकारेनन् ।
सेनाको संख्यामा निरन्तर ह्रास आएको तथ्यांकपछि भने फेरि यो बहस सतहमा आएको छ ।
४ मिनेटमा कसरी लुटियो विश्वकै सुरक्षित संग्रहालय ?
अनलाइन ठगीका बादशाह चेनको कम्बोडिया कनेक्सन
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
जापानले पायो पहिलो महिला प्रधानमन्त्री
मादागास्कर जेनजी आन्दोलन : राष्ट्रपति भागे, सेनाले लियो सत्ता


-1761836913.jpg)






