नेभिगेशन
विश्व

ट्रम्पले धोका दिएपछि चीनतिर ढल्किए मोदी 

भारत र चीनबीच राजनीतिक सम्बन्ध त्यति राम्रो छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकासँग नजिक हुने र चीनसँगको सम्बन्धलाई निष्क्रिय अवस्थामा राख्ने प्रयासमा थिए । 

अमेरिका र भारतको सम्बन्ध चीनको विश्वव्यापी महत्वाकांक्षालाई नियन्त्रणमा राख्ने साझा उद्देश्यले प्रेरित थियो । 

तर सुरक्षा र प्रविधिजस्ता विषयमा वर्षौं पुरानो सहकार्यलाई खतरामा पार्ने गरी नयाँ दिल्ली र बासिङ्टनको सम्बन्धमा अचानक दरार आएको छ । 

अगस्ट महिनाको पहिलो हप्ता अमेरिकाले भारतमा उत्पादन भएका सामानलाई २५ प्रतिशत कर लगाउने घोषणा गर्‍यो । 

भारतका लागि अमेरिकाको यो व्यवहार सरप्राइज थियो । तर अमेरिका यत्तिमै रोकिएन । रुसबाट तेल किनेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय उत्पादनलाई थप २५ प्रतिशत कर लगाउने घोषणा गरे । 

यसको प्रतिक्रिया स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँग नजिकिएका छन् । 

चीनका लागि त यो खुशीको कुरा हो । यो घटनाक्रमले चीन र भारत निकट विगतको तितो बिर्सेर आपसी सम्बन्ध सुमधुर बनाउने बाटोमा अघि बढेका छन् । 

०००

भारत र चीनबीच सन् २०१७ को जुनमा भुटान र चीनको सीमा क्षेत्रमा तनाव उत्पन्न भएको थियो । चीनले आफ्नो नियन्त्रण क्षेत्रमा सडक बनाएको भन्दै भुटानले सेना पठाएको थियो । 

तर चीनले त्यसलाई अस्वीकार गर्दै सडक निर्माणलाई निरन्तरता दिएपछि भुटानले भारतसँग गुहार मागेको थियो  । भारतले पनि त्यहाँ सेना पठायो । जवाफमा चीनले पनि आफ्नो सेना तयारी अवस्थामा राख्यो । यद्यपि दुई देशबीच झडपकै अवस्था भने आएन । 

त्यसको ३ वर्षपछि सन् २०२० को मे महिनामा लद्दाखको गलवान घाँटीमा चीन र भारतका सैनिकबीच झडप भयो । २० भारतीय सैनिकले ज्यान गुमाए । चीनका ४ सैनिकको मृत्यु भयो । यसले दुई देशको सम्बन्ध थप चिसियो ।

कोरोना महामारीको समयदेखि चीन र भारतबीचको सीधा हवाइ उडान पनि रोकियो । भारत र चीनबाट एक अर्को देश जान हङकङ वा सिंगापुरको बाटो भएर जानुपर्ने भयो । 

सन् २०२४ को अक्टोबरमा रुसको कजानमा भएको उदीयमान अर्थतन्त्रहरुको शिखर सम्मेलन भने चीन र भारतको सम्बन्ध सुधारको अवसर बन्यो । चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भयो । उनीहरुबीचको भेट सन् २०१९ पछिको पहिलो थियो । भेटवार्तापछि भारत र चीन एक अर्का देशमा लगाएको ट्राभल भिसाको प्रतिबन्ध हटाउन तयार भएका थिए । 

सन् २०२५ को जुन महिनामा बेइजिङले भारतका तीर्थयात्रीलाई तिब्बतको पवित्र भूमि मानसरोवर जान अनुमति दियो । कोरोना महामारी र दुई देशबीचको सीमा विवादका कारण चीनले भारतीय तीर्थयात्रीलाई मानसरोबर जान रोकेको थियो ।  

पछिल्लो समय दुई देशबीचका अधिकारीहरुको भेटघाट बाक्लिएको छ, जसले व्यापारमा देखिएका अवरोध हटाउनेदेखि दुई देशका मानिसहरुको एक अर्का देशमा आवत जावत पनि बढाएको छ । 

यसै हप्ता चिनियाँ विदेशमन्त्री वाङ यीले भारत भ्रमण गरे । दुई देशबीच यो तहको भेटवार्ता भएको पनि ३ वर्षपछि हो । उनीहरुबीच सीमा समस्या, आर्थिक र व्यापारिक विषयमा छलफल भएको थियो । 

दुई देशले लिपुलेक पास, सिप्किला पास र नाथुला पास गरी तीनवटा व्यापारिक नाका खोल्ने सहमति गरेका छन् । जबकी लिपुलेक नेपाली भूभाग हो । 

वाङ यीको भारत भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा दुई देशबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने विषय उल्लेख छ । त्यस्तै पत्रकारहरुका लागि भिसा जारी गर्ने र व्यापारिक र साँस्कृतिक आदान प्रदान सहज बनाउने उल्लेख छ । 

यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्दैछन् । उनी ७ वर्षपछि चीन भ्रमणमा जान लागेका हुन् । 

उनी चीनको उत्तरपूर्वी शहर तियान्जिनमा हुन लागेको क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी हुनेछन् । जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने कार्यक्रम छ । अर्थात् यो सम्मेलनमा अमेरिकासँग राम्रो सम्बन्ध नभएका तीन शक्तिशाली देशका सरकार प्रमुख जुट्दैछन् । 

गत मे महिनामा भारत र पाकिस्तानबीच पहलगाममा आतंकवादी घटनामा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर आक्रमण गरेको थियो । 

त्यतिबेला चीनले पाकिस्तानी सेनालाई सहयोग गरेको थियो । तर अहिले भारतले चीनसँग सम्बन्ध सुधार हुँदै जाँदा यो विषयमा आँखा चिम्लिएको छ । 

चीनका लागि पूर्व भारतीय राजदूत विजय गोखलेका अनुसार अहिले पनि चीन र भारतबीच प्रशस्त फरक रुचीहरु रहेका छन् । 

तर पुँजी र प्रविधिको स्रोत तथा जलवायु परिवर्तनको असर कम गर्न भारत र अरु विकासशील देशहरुलाई चीन, अमेरिकाको विकल्पको रुपमा देखिएको छ । ‘चीन पछिल्लो पाँच वर्षमा कहिल्यै नदेखिएको राम्रो देखिएको छ’ गोखलेले टाइम्स अफ इन्डियामा लेखेका छन् । 

चिनियाँ सरकारी सञ्चार माध्यमका समाचारहरु हेर्दा उनीहरु अमेरिका र भारतबीच सम्बन्ध बिग्रिएकामा खुशियाली मनाइरहेको देखिन्छ । 

चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले मोदीको आउँदो चीन भ्रमण भारतलाई विश्वासमा लिएर चीनलाई नियन्त्रणमा राख्ने वासिंङ्टनको प्रयास असफल भएको अर्थमा लेखेको छ । 

यद्यपि भारतको मैत्रीपूर्ण व्यवहारलाई चीनले विश्वास गरिहालेको चाहिँ देखिँदैन । भारततर्फ उसको पर्याप्त आशंका छ । झन् अहिले अमेरिकासँग सम्बन्ध बिग्रेका बेला चीनसँगको सम्बन्ध देखावटी मात्र हो कि भन्ने आशंका पनि चिनियाँ पक्षमा छ । 

००० 

भारत र चीनबीच प्रशस्त असहमतिहरु छन् । उनीहरुबीच २१ सय माइलको साझा सीमा छ, ठाउँ ठाउँमा सीमा विवाद छन् । 

दुई शक्ति राष्ट्र हिन्द महासागरमा आफ्नो शक्तिविस्तारमा पनि प्रतिस्पर्धामा छन् । चीनले विश्वव्यापी सञ्जाल विस्तार गर्ने गरी घोषणा गरेको बेल्ट एण्ड रोड इनिसिएटिभमा हिन्द महासागर समेत पर्छ । 

भारतको प्रमुख दुश्मन पाकिस्तानसँग चीनको राम्रो सम्बन्ध छ । पछिल्लो समय माल्दिभ्स, श्रीलंका लगायतका देशमा बढ्दो चिनियाँ प्रभाव पनि भारतका लागि टाउको दुखाइ बनेको छ । 

भारतप्रति चीनको सबैभन्दा ठूलो आशंका भनेको उसले आफ्नो असंलग्न परराष्ट्र नीति त्यागेर अमेरिकाको साइड लिन्छ कि भन्ने हो । 

चीनलाई आशंका गर्ने ठाउँ दिएको छ, क्वाड डिफेन्स ग्रुपले । क्वाड डिफेन्स ग्रुपमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया छन्, जसको मुख्य उद्देश्य चिनियाँ सैन्य शक्तिलाई काउन्टर दिने हो । क्वाड नेताहरुको अर्को बैठक आगामी वर्ष भारतमा हुने अनुमान छ । 

यदि भारतले चीनसँग सम्बन्ध बलियो बनाउन चाहेको हो भने उसका केही चाहना भारतले पूरा गर्नुपर्ने हुनसक्छ । त्यसको अर्थ हो, चिनियाँ व्यापार र लगानीका लागि भारत खुला राख्नुपर्छ र चिनियाँ लगानीकर्ताका लागि भारतमा लगानी प्रतिबन्ध हटाउनु हो । 

चिनियाँ कार उत्पादक बीवाईडीलाई भारतले अहिलेसम्म फ्याक्ट्री खोल्न दिएको छैन, र चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाएको छ ।

चीनप्रति भारतको पनि आशंका र अपेक्षाहरु छन् । जुन सहजै सम्बोधन हुने अवस्था छैन ।

चीन र भारतबीच नजिकका मित्र शक्ति होइनन्, बरु भारतका लागि अमेरिका नै नजिकको मित्र हो । तर अहिले डोनाल्ड ट्रम्पको व्यवहारले मात्र भारत चीनतर्फ नजिक हुन खोजेको देखिन्छ । त्यसैले चीन र भारतको सम्बन्ध कस्तो हुन्छ भन्ने नयाँ दिल्लीप्रति अमेरिकाको व्यवहारमा समेत भर पर्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप विश्व