नेभिगेशन
विश्व

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म 

एसियालाई विश्वको उदाउदो शक्ति भनिन्छ । अबको आर्थिक विकासको केन्द्र पनि एसियालाई मानिन्छ । भारत चीनजस्ता ठूला र जापान, कोरिया, इन्डोनेसियाजस्ता बलिया अर्थतन्त्र एसियामै पर्छ । 

त्यसैले विश्वभरका धनाढ्य व्यक्तिहरुको सूचीमा एसियाका उद्योगी व्यापारीहरु पनि पर्ने गरेका छन् । एसियाका धनाढ्य व्यक्तिहरुमा सफ्टवेयर, सूचना प्रविधि, उर्जा उद्यमीदेखि उपभोग्य सामान र खु्द्रा ब्यापारीसम्म छन् । 

हामीले यो भिडियोमा फोब्र्स म्यागाजिनले गत मे महिनामा सार्वजनिक गरेको एसियाका १० धनाढ्य व्यक्तिको सूचीमा रहेकाहरुबारे जानकारी गराउँदैछौं । १० धनाढ्यमध्ये ७ जना चीनका, २ जना भारतका र एक जना जापानका रहेका छन् । 

१. मुकेश अम्बानी 

एसियाका धनाढ्य व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् मुकेश अम्बानी । उनी भारतको मल्टिनेशनले ब्यापारिक समूह रिलायन्स इन्डस्ट्रीको चेयरम्यान र म्यानेजिङ डिरेक्टर हुन् । 

एसियाको सबैभन्दा धनी भएपनि उनी विश्वभरको धनीहरुको सूचीमा १६ औं नम्बरमा पर्छन् । उनको कुल सम्पत्ति १०८.२ बिलियन डलर रहेको छ । 

मुकेश अम्बानीको ठूलो बिजनेस पेट्रोलियम पदार्थ रिफाइनरी हो । भारतको जमनगरमा रहेको रिलायन्सको पेट्रोल रिफाइनरी विश्वकै ठूलो पेट्रोलियम रिफाइनरी मानिन्छ । 

सन् २०१० मा स्थापना भएको यो रिफाइनरी प्लान्टले एक दिनमा ६ लाख ६० हजार ब्यारेल पेट्रोलियम पदार्थ रिफाइन गर्छ भने एक वर्षमा ३ करोड ३० लाख टन रिफाइन गर्छ । 

मुकेशका बाबु धिरुभाइ अम्बानीले सन् १९५८ मा रिलायन्स इन्डस्ट्री स्थापना गरेका थिए । सुरुमा यसले दैनिक उपभोग्य सामानका साथै मसला र पोलिस्टरको धागोको कारोबार गर्थ्यो । 

सन् १९५७ अप्रिलमा जन्मिएका मुकेश अम्बानी २४ वर्षको हुँदा कम्पनीमा काम सुरु गरेका थिए । सुरुमा उनले धागो कारखानाको जिम्मा लिएर काम सुरु गरेका थिए । रिलायन्स ग्रुपले अहिले आफ्नो बिजनेसलाई धेरै क्षेत्रमा फैलाएको छ । 

हाल रिलायन्स इन्डस्ट्रीले ऊर्जा, पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य सामान, टेलिकम्युनिकेसन आदि क्षेत्रमा व्यवसाय गरिरहेको छ । मुकेश अम्बानी भारतको आईपीएल टिम मुम्बई इन्डियन्सका मालिक पनि हुन् । 

२. गौतम अडानी 

एसियाको दोस्रो धनाढ्य व्यक्ति पनि भारतकै छन्, गौतम अडानी । अडानी ग्रुपका संस्थापक  गौतम अडानीको कुल सम्पत्ति ६६.६ बिलियन अमेरिकी डलर छ । उनी विश्वका २३ औं धनी व्यक्ति हुन् ।  

अडानी ग्रुप भारतमा सबैभन्दा ठूलो निजी बन्दरगाह सञ्चालक हो । भारतमा उसले १० भन्दा धेरै बन्दरगाह सञ्चालन गर्छ र उसको कारोबार भारतको कुल बन्दरगाह व्यापारको एक चौथाइ छ । अडानी ग्रुपकै अडानी पावरले कुल १५ हजार २५० मेगावाट बिजुली निकालेको छ । 

सन् १९८८ मा अडानी ग्रुप स्थापना गर्नुअघि गौतम अडानीले मुम्बईमा हिराको कारोबार गर्थे । सन् १९९८ मा गौतम अडानी फिरौतीका लागि अपहरणमा परेका थिए । 

अडानी सन् २०२२ फेबु्रअरीमा मुकेश अम्बानीलाई पनि जितेर एसियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए, पछि मुकेश अम्बानीको सम्पत्ति बढेपछि उनी दोस्रो नम्बरमा झरे । 

३. जाङ इमिङ 

एसियाका तेस्रा धनी जाङ इमिङ बाइट डान्सका को–फाउन्डर हुन्, बाइट डान्सले सोसल मिडिया प्लाटफार्म टिकटक चलाउँछ । 

जाङ इमिङको उनको कुल सम्पत्ति ६५.५ बिलियन डलर छ । उनी विश्वभरका धनीहरुको सूचीमा भने २५ औं नम्बरमा छन् । 

जाङ इमिङको बाइट डान्सले नन् २०१२ मा बेइजिङमा समाचार र सूचना दिने इन्टरनेट प्लोटफार्म टुटियो र सर्ट भिडियो पोस्ट गर्ने प्लाटफार्म डुइन सञ्चालन गथ्र्यो । पछि यसमा सन् २०१६ मा म्युजिकल्लीलाई पनि समावेश गरेर टिकटक बनाइएको थियो । इमिङले त्यतिबेला ८०० मिलियन डलरमा म्युजिकल्ली किनेका थिए । 

सन् २०२४ मा जाङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका थिए । उनले सन् २०२१ मा नै बाइट डान्सको सीईओबाट राजीनामा दिइसकेका थिए । तर बाइट डान्स कम्पनीको भोटिङ राइटमा उनको ५० प्रतिशत हिस्सा छ ।

४. जोङ सानसान 

एसियाका चौथा धनी व्यक्ति हुन् चिनियाँ नागरिक जोन साङसाङ । उनी चिनियाँ बोटल वाटर र सफ्ट ड्रिंक कम्पनी नोङ्फु स्प्रिङका संस्थापक हुन् । 

उनको कुल सम्पत्ति ५८.६ बिलियन अमेरिकी डलर छ । उनी विश्वका २८ औं धनी व्यक्ति हुन् । 

जोङ सानसानको व्यापार चीनको हाङझाउ शहरमा छ । नोङफु स्प्रिङ चीनको सबैभन्दा ठूलो बोटल वाटर कम्पनी हो । सन् २०२४ मा यसको पानीको व्यापार मात्र ७.७ बिलियन डलरको थियो ।

उनको सफ्ट ड्रिंक पनि विश्वकै ठूलोमध्ये एक हो । यसले कोकाकोला, पेप्सी र वाटसन जस्तो ब्राण्ड भन्दा पनि बढी बिक्री भएको रेकर्ड बनाइसकेको छ । 

जोन सानसान भ्याक्सिन र हेपाटाइटिसको किट उत्पादन गर्ने चिनियाँ कम्पनी वान्टाइ बायोलोजिकल फार्मेसी इन्टरप्राइजेजको मुख्य शेयर होल्डर पनि हुन् । यो कम्पनीले गत वर्षमा २.२ बिलियन युआनको कारोबार गरेको थियो । 

५. मा हुवाटेन 

एसियाको धनाढ्य मानिसहरुको पाचौं नम्बरमा छन्, चिनियाँ व्यापारी मा हुवाटेन । उनी चिनियाँ इन्स्ट्यान्ट म्यासेजिङ, अनलाइन गेमिङ र अनलाइन सर्भिस प्रोभाइडर कम्पनी टेनसेन्टका प्रमुख कार्यकारी र को फाउन्डर हुन् । 

उनको कुल सम्पत्ति ५३.१ बिलियन डलर रहेको छ । उनी चीनका तेस्रो धनी व्यक्ति हुन् । विश्वका २९ औं धनी हुन् । उनी व्यापारसँगै राजनीतिमा पनि सक्रिय छन् । उनी सेन्जेन म्युनिसिपल पिपुल्स कांग्रेसका उपप्रमुख भइसकेका व्यक्ति हुन् । त्यस्तै उनी चीनको १२ औं नेशनल पिपुल्स कंग्रेसको सदस्य पनि हुन् ।

चीनको सेन्जेन शहरमा रहेको उनको कम्पनीले सन् २०२४ मा ६६० बिलियन युआनको कारोबार गरेको थियो । मा हुवाटेनले सन् २०२४ मै चीनको सबैभन्दा ठूलो इन्स्ट्यान्ट म्यासेजिङ एप वीच्याटको स्वामित्व लिएका थिए । 

गत मे महिनामा चिनिया एआई च्याटबोट र डिपसिकमा समस्या पर्दा त्यसको समाधानका लागि टेनसेन्टलाई नै आग्रह गरिएको थियो । 

६ टिडसी यानाई 

एसियाको छैटौं धनी व्यक्ति हुन् जापानका ७६ वर्षका टिडसी यानाइ । उनी प्रसिद्ध जापानी क्लोथिङ ब्राण्ड युनिक लो को प्यारेन्ट कम्पनी फास्ट रिटेलिङको संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । 

उनको कुल सम्पत्ति ४७.७ बिलियन डलर छ । उनी जापानका सबैभन्दा धनी व्यक्ति हुन् । र विश्वका ३१ औं धनी व्यक्ति हुन् । 

फास्ट रिटेलिङ, एसियामा नै सबैभन्दा ठूलो कपडा व्यवसाय हो । उसले युनिक लोका साथसाथै जीयू, जे ब्राण्ड र थेरी नाममा पनि कपडा बिक्री गर्छ ।

टिडसी यानाइ १८ वर्षसम्म जापानी प्रविधि समूह सफ्ट व्यांकको स्वतन्त्र सञ्चालक पनि थिए । सन् २०१९ मा भने उनले सफ्ट बैंक छाडेका थिए । 

उनको घर जापानको राजधानी टोक्योको मध्यभागतिर पर्छ । उनको घरको कम्पाउण्डभित्रै मिनि गल्फ रेन्ज रहेको छ । त्यसबाहेक उनको २ वटा अरु गल्फ कोर्स पनि छन् । 

७. कोलिन हुवाङ 

एसियाका सातौं धनी कोलिन हुवाङ व्यापारी, लगानीकर्ता र समाजसेवी हुन् । उनको ई कमर्स कम्पनी पीडीडी होल्डिङ्स् चीनको सबैभन्दा ठूलो अनलाइन कृषि रिटेलर हो । 

उनको कुल सम्पत्ति ४२ बिलियन अमेरिकी डलर छ । उनी विश्वका ३५ औं धनी व्यक्ति हुन् । 

पीडीडी होल्डिङ्सको स्थापना सन् २०१५ मा सांघाइमा भएको हो । पीडीडी होल्डिङ्सले अर्को अनलाइन प्लाटफार्म टेमु पनि सञ्चालन गर्दै आएको छ । कोलिन हुवाङले सामाजिक उत्तरदायित्व अन्तर्गत १.८५ बिलियन डलर वैज्ञानिक अध्ययनका लागि दिएका छन् । 

८. लेई जुङ 

विश्वका आठौं धनी लेइ जुङ चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी साओमीका संस्थापक र अध्यक्ष हुन् । उनको कुल सम्पत्ति ४०.९ बिलियन डलर छ । उनी विश्वका ३८ औं धनी व्यक्ति हुन् । 

लेई जुङलाई चीनका स्टिभ जब्स पनि भन्ने गरिन्छ । साओमीलाई एप्पल र सामसङको प्रतिस्पर्धी ब्राण्डका रुपमा पनि लिइन्छ । साओमीले स्मार्ट फोन बजारमा सस्तो मूल्यमा पाइने राम्रो ब्राण्डको छाप बनाएको छ । 

चीनमा साओमीको फोन एप्पलको आइफोन ५ को मूल्यको पनि तीन भागको एक भाग मात्र पर्छ । लेई जुङ साओमी स्थापना गर्नुअघि सफ्टवेयर डेभलपर कम्पनी किङ सफ्टको सीईओ थिए । उनी सन् २०१३ देखि चीनको नेशनल पिपुल्स कंग्रेसको सदस्य छन् । 

९. विलियम डिङ 

एसियाका नवौं धनी व्यक्ति विलियम डिङ अनलाइन गेमिङ प्लाटफार्म नेट एजका सीईओ हुन् । उनको कुल सम्पत्ति ३८.२ बिलियन डलर छ । यो कम्पनी विश्वकै ठूलो गेमिङ कम्पनी मानिन्छ । 

यसमार्फत फ्यान्टासी वेस्टवार्ड, एगी पार्टी र जस्टिस मोवाइल जस्ता गेमहरु खेल्न मिल्छ । सन् २००३ मा डिङ पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेका थिए र चीनमा इन्टरनेट गेमिङ क्षेत्रका पहिलो अर्बपति बनेका थिए । 

उनले सन् २०२२ अक्टोबरदेखि सन् २०२३ को जुलाइको अवधिमा मात्र १२.२ बिलियन डलर सम्पत्ति थपेका थिए । 

१०. लि का सिंङ 

एसियाका १० औं धनी व्यक्ति लिका सिङ हङकङका बासिन्दा हुन् र उनी ९६ वर्ष पुगिसके । उनले २१ वर्षको उमेरदेखि व्यापार सरु गरेका थिए । 

सुरुमा उनले च्युङ कङ इन्ड्रस्ट्रीका नाममा प्लास्टिक उत्पादन सुरु गरेका थिए । सन् १९५० मा आफन्तसँग सापटी मागेर र ऋण गरेर ६ हजार ५०० अमेरिकी डलरबाट व्यापार सुरु गरेका थिए । उनको कम्पनीले प्लास्टिकका कृत्रिम फूलहरु बनाएर अमेरिका निर्यात गर्थ्यो ।  

प्लास्टिक कम्पनीले राम्रो आम्दानी दिन थालेपछि उनले त्यो रकम रियल स्टेटमा लगानी गरे । अहिले बन्दरगाह र पूर्वाधारमा पनि लगानी गरेका छन् । अहिले उनको सम्पत्ति ३७.५ बिलियन डलर छ । 

लि का सिंङले आफ्नो नामको फाउन्डेसनमार्फत ३.८ बिलियन डलर समाजसेवामा लगाइसकेका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व