नेभिगेशन
3 Minute

चीनमा ओलीले सी र पुटिनसहित ६ देशका सरकार प्रमुखसँग भेट्ने  

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि गर्ने चीन भ्रमणका क्रममा चीन, रुसलगायतका देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्ने भएका छन् ।

भदौ १६ गते चीनको थियान्जिनमा हुने सांघाइ सहयोग संगठन एससीओको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग आफ्नो दुईपक्षीय भेट हुने जानकारी दिए ।

त्यस्तै सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

हालसम्म रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेटवार्ता गर्नेछन् । चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा पनि ओली सहभागी हुनेछन् । भदौ १६ गते उनले  थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भदौ १८ गते चीन सरकारले बेइजिङमा जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोह आयोजना गर्दैछ । त्यस कार्यक्रममा नेपालबाट प्रधानमन्त्री ओलीसँगै ५० भन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, कांग्रेस नेता पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छबिलाल विश्वकर्मा, परराष्ट्रसचिव अमृत राई लगायत सरकारका उच्च पदस्थ कर्मचारी सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओली भदौ १८ गते नेपाल फर्किनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute