बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?
चीनले सेप्टेम्बर ३ मा बेइजिङमा ठूलो सैन्य परेड प्रदर्शन गर्दैछ । सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अवलोकन गर्ने कार्यक्रम छ ।
यसलाई लिएर नेपालमा भने चिन्ता छ, चीनको विजय परेडमा ओलीको सहभागिताले जापान नेपालसँग चिढिने त होइन ?
किनकी यो सामान्य परेड होइन । परेडमा ४० हजार सिपाही र सर्वसाधारण सहभागी हुनेछन् । पछिल्लो फाइटर जेट, मिसाइल र अरु हतियार पनि प्रदर्शन गर्ने तयारी छ ।
र, यसको नाम दिइएको छ, फासीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्धको ८० औं वार्षिक उत्सव ।
सन् १९३७ मा युरोपमा दोस्रो विश्वयुद्ध सुरु हुँदा एसियामा पनि जापान र चीनबीच युद्ध सुरु भएको थियो ।
चीन–जापान युद्धलाई दोस्रो साइनो जापान वार पनि भनेर चिनिन्छ । यो दोस्रो विश्वयुद्धकै एक अंग मानिन्छ ।
युरोपमा जर्मनी र पोल्याण्डबीचको युद्धबाट दोस्रो विश्वयुद्ध सुरु भएको थियो । एसियामा भने जापानले चिनियाँ शहरहरुमाथि आक्रमण गरेपछि युद्ध सुुरु गरेको थियो । चीन–जापान युद्ध सन् १९३७ मा सुरु भएर १९४५ सम्म चलेको थियो ।
यो युद्धको बिजारोपण भने सन् १९३१ मा चीनको मन्चुरिया युद्धबाट भएको मानिन्छ ।
जापानले चिनियाँ भूमि मन्चुरियामा दाबी गर्दै युद्ध सुरु गरेको थियो । सन् १९३२ फेब्रुअरीमा जापानले मन्चुरियामाथि नियन्त्रण पनि कायम गर्यो ।
चीनले यो विषयमा लिग अफ नेसन्समा अपिल गर्यो । लिग अफ नेसन्सले मन्चुरियामा के भएको हो भन्ने बुझ्न एउटा टोली खटायो । एक वर्षपछि त्यो टोलीले प्रतिवेदन दिँदा मन्चुरिया चीनकै भएको बतायो ।
लिग अफ नेसन्सको विशेष महासभामा मन्चुरियाको विषयमा भोटिङ समेत भयो । ४० देशले मन्चुरिया चीनकै हुने पक्षमा मत दिए भने जापानले मात्र त्यसको विपक्षमा मतदान गर्यो । त्यसपछि जापान लिग अफ नेसन्सबाट बाहिरियो ।
अनि सन् १९३७ को जुलाइ ७ मा जापानले चीनको राजधानी बेइजिङ नजिकैको मार्को पोलो पुलमा चिनियाँ सेनामाथि आक्रमण गर्यो ।
अनि, दोस्रो साइनो जापान वार सुरु भयो ।
सन् १९३७ कै जुलाई २५ देखि ३१ सम्म जापानले बेइजिङ र तियान्जिनमा आक्रमण गर्यो । चीनको राजधानी बेइजिङ कब्जाको घोषणा गर्यो ।
सन् १९३७ को अगस्ट १३ देखि नोभेम्बर २६ सम्म जापानले सांघाइमा आक्रमण गर्यो । चिनियाँ सेनाले पहिला कडा युद्ध लडे । एक महिनाको लडाइपछि सांघाइ पनि जापानको कब्जामा पर्यो ।
सन् १९३७ डिसेम्बरमा जापानले चीनको नान्जिङ शहर पनि नियन्त्रणमा लियो । त्यतिबेला चीनमा हजारौं मानिसहरु मारिनुका साथै जापानी सैनिकबाट युद्ध अपराध समेत भएका थिए ।
त्यो युद्धमा ४० हजारदेखि ३ लाख जनासम्म चिनियाँ नागरिक र सैनिक मारिएको अनुमान छ ।
सुरुमा यो युद्ध चीन र जापानबीचको युद्ध मात्र थियो । यसमा पश्चिमा शक्तिहरु सहभागी थिएनन् ।
चीन आन्तरिक रुपमा पनि एकढिक्का थिएन । त्यतिबेला चीनमा कोमिन्ताङ पार्टीका नेता च्याङ काइ सेक नेतृत्वको राष्ट्रवादी सरकार थियो । जापानले चीनका मुख्य शहरहरु बेइजिङ, सांघाइ, नान्जिङजस्ता ठूला शहरमा आक्रमण गर्दै कब्जामा लियो । च्याङ काइ सेक भित्री शहरहरुमा लुकेर बसेका थिए ।
त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको पकड देशको उत्तरपश्चिम क्षेत्रमा मात्र थियो । त्यसैले धेरैलाई लागेको थियो, चीनले जापानसँग युद्ध लड्न सक्दैन, आत्मसमर्पण गर्नुपर्छ वा शान्तिका लागि जापानको शर्त मान्नुपर्छ ।
यद्यपि चीन जापानविरुद्ध हार मानेन, प्रतिरोध गरिरह्यो । अनौपचारिक रुपमा सोभियत संघ, अमेरिका र बेलायतबाट सानोतिनो सहयोग पाइरहेको थियो । उसलाई आशा पनि थियो कि कुनै विदेशी शक्तिले आफूहरुलाई सहयोग गर्नेछ ।
त्यसपछि सन् १९३८ जुन ११ देखि अक्टोबर २७ सम्म्म जापानले फेरि वुहानमा चीनसँग यद्ध लड्यो । वुहान त्यतिबेला चीनको राजधानी शहर जत्तिकै शक्तिशाली थियो । लामो यद्धपछि वुहान पनि जापानले नै कब्जा गर्यो । चीन सरकार त्यहाँबाट चोङकिङमा सर्यो ।
१९३८ को अक्टोबर २१ मा जापानले ग्वाङझाओ पनि कब्जामा लियो । १९४१ मा आइपुग्दा यस्तो भइसकेको थियो कि जापानले सबै पूर्वी एसिया कब्जा गर्छ कि थियो । किनकी त्यतिबेला बेलायत हिटलरको जर्मनीविरुद्ध युद्धमा अल्झिएको थियो । बेलायती उपनिवेश रहेका केही देश जापानले आफ्नो कब्जामा लिइसकेको थियो ।
तर अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रांकलिन रुजवेल्टले जापानविरुद्ध केही कदम चाल्ने निर्णय गरे । सन् १९४१ को अगस्ट १ मा अमेरिकाले जापानमाथि तेल प्रतिबन्ध लगायो । यो प्रतिबन्धका कारण लगभग ८० प्रतिशत आपूर्ति रोकियो ।
यसको जवाफमा जापानले अमेरिकामाथि आक्रमण गर्ने योजना बनायो, जुन उसका लागि निकै प्रत्युत्पादक सावित भयो । भयो के भने सन् १९४१ डिसेम्बर ७ मा जापानी सैन्य विमानले अमेरिकाको हवाइस्थित पर्ल हार्बर बन्दरगाहमा आक्रमण गर्यो ।
अमेरिकाको १८ नौसेना जहाजहरु डुबे वा काम नलाग्ने भए । ३४७ विमान ध्वस्त भए । यो घटनामा २ हजार ४०३ जना मारिएका थिए भने १ हजार १७८ जना घाइते भए ।
त्यसपछि जापानविरुद्ध अमेरिका युद्धमा आयो । उसले एसियामा जापानले कब्जा गरिरहेको चीनलाई सहयोग गर्यो । त्यतिबेला चीन र अमेरिकाबीच राम्रो सम्बन्ध थियो । त्यसैले जापानविरुद्ध लड्न चीनलाई आर्थिक र सैन्य सहयोग दियो ।
अनि चीनले जापानले नियन्त्रणमा लिएका भूभाग फिर्ता ल्याउन जवाफी आक्रमण गर्न थाल्यो । पश्चिम हुनानमा जापानले गरेको आक्रमणलाई पनि विफल बनायो ।
त्यति मात्र होइन, अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा शक्तिशाली परमाणु बम नै खसायो ।
अमेरिकाले सन् १९४५ को अगस्ट ६ मा हिरोसिमा र अगस्ट ९ मा नागासाकीमा आक्रमण गर्यो । तीन दिनको अन्तरमा भएको यो आक्रमण यति शक्तिशाली थियो कि करिब ८० हजार मानिस मारिए ।
जापानले युद्ध थेग्न सकेन र आत्मर्पण गर्न बाध्य भयो । जापानले अगस्ट १५ मा आत्मसमर्पण गर्यो । त्यसको औपचारिक हस्ताक्षर सेप्टेम्बर २ मा भयो । त्यसपछि चीनसँगको युद्ध पनि अन्त्य भयो । जापानले कब्जा गरेको भूभाग पनि सबै चीनलाई नै फिर्ता गर्यो । यसरी यो युद्ध अन्तिममा चीनले जित्यो, जापानको हार भयो ।
युद्ध जिते पनि चीनले निकै ठूलो क्षति ब्यहोर्यो । जापानसँगको युद्धमा करिब १ करोड ५० लाख चिनियाँले ज्यान गुमाएका थिए, तिनीहरु सैनिक र सर्वसाधारण दुबै थिए । अनि औद्योगिक पूर्वाधार पनि ध्वस्त भयो ।
चीन र जापानबीच औपचारिक रुपमा युद्ध अन्त्यको सम्झौता भने १९५२ मा मात्र भयो । किनकी सन् १९४५ मा जापानसँगको युद्ध सकिएपछि चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रवादी सरकारबीच संयुक्त सरकार बनाउने सहमति भयो ।
तर यो सहमति टिकेन १९४६ देखि १९४९ सम्म चीनमा गृहयुद्ध भयो । १९४९ मा माओत्से तुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले युद्ध जित्यो । अनि कम्युनिस्ट पार्टीको सरकारसँग र जापानबीच सन् १९५१ मा शान्ति सम्झौता भयो ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)