राप्रपाले पनि रुपन्देही-३ को उम्मेदवार आन्तरिक चु्नावबाट चयन गर्ने
                                                                    
                                
                            राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवार आन्तरिक निर्वाचनबाट छनोट गर्ने भएको छ ।
मंगलबार बसेको पार्टीको संसदीय समितिको बैठकले रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारका लागि रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्षीहरुबीच निर्वाचन गराइनेछ । र धेरै मत ल्याउने आकांक्षीलाई उम्मेदवार चयन गरिनेछ । रुपन्देही- ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
राप्रपाले आन्तरिक निर्वाचनको मिति भने तोकेको छैन, त्यसको जिम्मा रुपन्देही उपनिर्वाचन परिचालन समितिलाई दिएको छ ।
उम्मेदवार छनोटका लागि मतदान गर्ने मतदाता भने राप्रपाले मंगलबारको बैठकबाट टुंगो लगाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार रुपन्देही–३ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारी र सदस्य, त्यसभित्रको प्रदेशसभा क र ख को कार्यसमितिका पदाधिकारी र सदस्यले मतदान गर्न पाउनेछन् ।
रुपन्देही–३ भित्र रहेका वडा, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका पदाधिकारी र सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमिति सदस्य र पदाधिकारीले पनि मतदान गर्न पाउनेछन् ।
त्यसैगरी रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र पदाधिकारीहरु, भ्रातृ संगठनका पदाधिकारी र सदस्य र अन्य सक्रिय सदस्यले पनि मतदान गर्न पाउनेछन् ।
रुपन्देही–३ बाट २०७९ सालको प्रतिनिधिसभा चुनावमा राप्रपाकै दीपक बोहरा निर्वाचित भएका थिए । त्यसैले राप्रपाका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।
रुपन्देही ३ को उम्मेदवार हुन दिवंगत दीपक बोहराका दुई छोरा गौरब र प्रज्वल बोहरा, नातिनी स्वाति थापा र केन्द्रीय सदस्य बसन्त विक्रम शाही आकांक्षी छन् । आकांक्षीहरुबीच सहमति हुन नसकेपछि राप्रपाले चारै जनालाई बोलाएर जसले टिकट पाएपनि सघाउने सहमति गराएको थियो ।
राप्रपा भन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक चुनावबाट डा. लेखजंग थापालाई उम्मेदवार चयन गरिसकेको छ ।
हेर्नुहोस् राप्रपाको निर्णय

 
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






