नेभिगेशन
विश्व

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

चीनले जापानमाथिको जितको ८० औं वर्षगाठमा आयोजना गरेको विजय उत्सवमा विश्वसामू आफ्नो सैन्य शक्ति देखाएको छ ।

दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गरेको ८० औं वर्षगाठको अवसर पारेर चीनले बेइजिङमा विशाल सैन्य परेड र हतियारको प्रदर्शन गर्‍यो । 

परेड सुरु हुनु भन्दा पहिला राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन एकसाथ देखिएका थिए । 
परेडका क्रममा केही हतियार र उपकरणहरु पहिलो पटक देखाइएको छ । परेडमा प्रदर्शन गरिएका हतियारहरु लङ रेन्जका आणविक हतियारहरु छन् । 

यो परेडमार्फत चीनले विश्वलाई यो सन्देश दिन चाहन्छ कि अबको विश्व व्यवस्थामा चीन सबैभन्दा माथि हुनेछ ।

चिनियाँ समाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा केही हतियारलाई लिएर निकै चर्चा भएको छ । आउनुहोस्, चीनले भिक्ट्री परेडमा देखाएका केही हतियारबारे जानौं । 

आईसीबीएम डीएफ ६१ 

यो चीनले बेइजिङ परेडमा देखाएको नयाँ हतियार हो । रक्षा विश्लेषक अलेक्जेन्डर नीलका अनुसार यो मिसाइल जमिन मुनिबाट प्रहार गर्ने गरी बनाइएको छ । यसले अमेरिका र पश्चिम युरोपसम्म परमाणु हतियारबाट आक्रमण गर्नसक्छ । 

यसको अर्को विषेशता हो, रोड बाउन्ड हुनु । रोड बाउन्ड मिसाइल त्यो हो, जसलाई ट्रकमा राखेर सडक मार्गबाट एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । 

ट्रान्सपोर्ट इरेक्टर लञ्चर (टीआईएल) सँग जोडेपछि यसलाई सहजै लुकाउन सकिन्छ र आवश्यक परेको बेला यसमा इन्धन भरेर तत्काल प्रयोगमा ल्याउन सकिन्छ । 

रोबटिक डग र ड्रोन 

परेडमा देखिएको नयाँ हतियारमा जमिनबाट हावामा मार हान्ने मिसाइललाई इन्टरसेप्ट गर्ने एचक्यू १९ हाइ एल्टिच्युड इन्टरसेप्टर र अण्डर वाटर भेइकल्स पनि छ ।

यसमा ड्रोन प्रविधि पनि छ । जसमा ट्यांकमा लगाइएको ड्रोन, एन्टी ड्रोन स्वार्म सिस्टम, अटोमेटेड ड्रोन र रोबटिक डग पनि छ । 

चार खुट्टा भएको रोबोटको टुकडीले सबैको ध्यान तान्यो । चिनियाँ सेनाको यो अपेक्षाकृत नयाँ र आकर्षक हतियार मानिएको छ । 

चिनियाँ सरकारी मिडियाका अनुसार यसले मेसिन ल्याउने, रासन पुर्‍याउने मात्र होइन, दुश्मनमाथि सटिक हमला गर्न समेत सक्छ । 

गत वर्ष कम्बोडियासँग भएको संयुक्त सैन्य अभ्यासमा पनि चीनले रोबोट डग्स देखाएको थियो । तर पछि यसलाई रोबोट ओल्भ्सका रुपमा देखाइयो, जसलाई रणनीतिक परिर्वतन भनिएको छ ।

जाइन्ट अण्डरवाटर ड्रोन 

यो १८ मिटर लामो विशाल अण्डर वाटर ड्रोन हो, जुन परमाणु हतियार बोक्न सक्षम छ । विशाल पनडुब्बी जस्तो यो ड्रोन १८ देखि २० मिटर गहिराइसम्म जान सक्छ । हेर्दाखेरि यो लामो र कालो टायरजस्तो देखिन्छ । 

न्यू लेजर विपन  

चीनले पहिलो पटक प्रदर्शन गरेको हतियार हो, न्यू लेजर विपन अर्थात् एलवाई–१ । यसको विशेषता हो, लगातार प्रहार र विनाश । यसलाई हाइ इनर्जी लेजर पनि भनिएको छ । यसलाई ड्रोनको सट्टामा पनि प्रयोग गर्न सकिन्छ । यसले माइक्रो वेभ विपनहरुसँगै काम गर्छ र ड्रोनविनाका हवाइ आक्रमणबाट जोगाउँछ । 

टाइप १०० ट्यांक

चीनले परेडमा प्रदर्शन गरेको अर्को हतियार हो, टाइप–१०० ट्यांक र टाइप–१० फाइटिङ भेहिकल । यो चीनले बनाएको टाइप–९९ को सुधारिएको रप हो । यसलाई चीनको चौथो जेनेरेसनको ट्यांक भनिएको छ । यो हतियार मानवीय सहायताबिनै चल्न सक्छ । 

लोयल विङम्यान

परेडमा धेरै फाइटर ड्रोनहरु पनि प्रदर्शन गरिएको थियो । केही ड्रोनहरु एआईको सहायतामा चलेका थिए । तीनैमध्ये एक थियो, लोयल विङम्यान । यो ड्रोन मान्छेले उडाउने फाइटर जेटसँगै उड्न सक्छ र आक्रमणमा सहयोग गर्न सक्छ । 

गुम किलर 

यसलाई डोङफेङ –२६ डी मिसाइल पनि भनिन्छ । यो मध्यम रेन्जमा प्रहार गर्न सक्ने मिसाइल हो । यसको नाम अमेरिकाको एक सैन्य बेस क्याम्प गुमको नामबाट राखिएको छ । 

विश्वमा ठूलो सैनिक शक्ति अमेरिका नै हो, त्यसपछि चीन र रुसलाई मानिन्छ । विश्वको कुल सैनिक शक्तिको आधा अमेरिका र चीनसँगै छ । 

चीनसँग विभिन्न खालका शक्ति गरी ४० लाख भन्दा बढी सैनिक रहेको अनुमान छ । उसको सैनिक खर्च पछिल्लो ३० वर्षमा ४ गुणाले बढेको छ । हाल उसको सैनिक खर्च करिब ३०० बिलियन डलर रहेको अनुमान छ । 

चीनले आफ्नो ध्यान क्षेप्यास्त्र र रकेट बल विकासमा केन्द्रित गरिरहेको छ । र यसलाई उसले आफ्नो प्रतिरोधको रणनीति भनेको छ । 

यो परेडबाट चीन के पुष्टि गर्न खोजिरहेको छ भने उसले छोटो समयमा नै धेरै प्रकारका हतियारहरु बनाइदिन सक्छ । 

१० वर्षअघि सम्म चीनले उत्पादन गर्ने हतियारहरु अमेरिकाले उत्पादन गरेका हतियारको कपी गरेजस्ता देखिन्थे । तर पछिल्लो समय असाधारण विकास गरेको छ ।

यसपटकको परेडमा चीनले इनोभेटिभ, विभिन्न गति र दिशामा प्रहार गर्न सक्ने हतियार बनाएको छ । त्यसमा पनि ड्रोन र मिसाइल मुख्य छ । 

तर अहिले पनि प्रश्न बाँकी नै छ । चीनको सैनिकले यी हतियारहरु कसरी सही तरिकाले चलाउन सक्छ ? यसको विशाल आकार र हालसालै कुनै युद्ध नगरेका कारण चीनका सैनिकका लागि यो हतियार चलाउन कठिन हुन सक्छ ।

चीनले पछिल्लो एक हप्तामा जे जे गर्‍यो, त्यो अमेरिकाका लागि विशेष सन्देश हो । चीनको यो प्रदर्शनले डोनाल्ड ट्रम्पलाई प्रश्न गरेको छ । तिमी मेक अमेरिका ग्रेट अगेन भन्छौ, तर के गर्‍यौ ? अनि अमेरिका फस्र्ट भनेको यही हो ? 

यो परेडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बोलाइएनन् । विश्लेषकहरुका अनुसार चीनले ट्रम्पलाई नबोलाएर र चीन, रसिया र उत्तर कोरियाका नेताहरु बसेर यत्रो सैन्य परेड गर्नुले अमेरिकी धुरीको विश्व व्यवस्थाको विकल्प छ है भन्ने देखाउन खोजिएको हो ।

यो परेड प्रदर्शनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने बसेनन् । चीनमा दुई दिनसम्म सांघाई सहयोग संगठनको कार्यक्रममा सँगै बसेका मोदी परेडका बेला भने सहभागी भएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व