सामाजिक सञ्जाल प्रतिबन्धमा देउवा : दर्ता गर्न त आउनु पर्ने हो

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।
मनाङ प्रदेशसभाको उपचुनावका लागि दल दर्ताबारे निर्णय गर्न आइतबार विहान कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो । बैठकमा नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरे ।
महामन्त्री गगन थापा, नेताहरु विमलेन्द्र निधि, अर्जुननरसिंह केसी लगायतका नेताहरुले सामाजिक सञ्जाल बन्द गरेर समस्या समाधान नहुने बताए । उनीहरुले यसबारे पार्टीे औपचारिक रुपमा बोल्नुपर्ने समेत माग गरेका थिए ।
सहमहामन्त्री डीना उपाध्यायले पनि सामाजिक सञ्जाल नियमन गर्नुपर्छ, तर पूर्ण रुपमा बन्द गर्नु राम्रो नभएको बताइन् । उनले भनिन्, ‘यसमा रणनीति तयार गरेर सरकारलाई सुझाव दिनुपर्छ, कांग्रेस बोल्नुपर्छ ।’
नेता अर्जुनरसिंह केसीले भोलि जेनजी पुस्ताले गर्ने प्रदर्शनबारे बैठकमा कुरा उठाएका थिए । सामाजिक सञ्जाल राजनीति मात्र होइन, दुखसुखको साथी भइसकेको भन्दै उनले भने, 'अविछिन्न स्वतन्त्रता अपहरण गर्ने काममा कांग्रेस मुकदर्शक बस्नु हुँदैन, बाटो खोज्नुपर्छ ।’
जवाफमा सभापति शेरबहादुर देउवाले ‘दर्ता गर्न त आउनु पर्ने हो’ भनेका थिए । त्यसपछि नेताहरुले सर्वोच्च अदालतले पनि कानुन बनाएर नियमन गर भनेको स्मरण गराए ।
अहिले सरकारले निर्देशिकाको आधारमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको हो । यससँगै फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका सञ्जाल बन्द भएका छन् ।
कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार कार्यसम्पादन समितिको बैठकमा पर्यटनमन्त्री बद्री पाण्डे बाहेक अरु मन्त्रीहरु थिएनन् ।
त्यसैले यसबारे सरकारको धारणा बुझ्ने र औपचारिक रुपमा पार्टीको धारणा बाहिर ल्याउने समझदारी भएको छ । उनले भने, ‘एकदुई दिनमै हामी हाम्रो धारणा सार्वजनिक गर्छौं ।’

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
