बृहत नागरिक आन्दोलनले भन्यो : सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने षड्यन्त्र
बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको भन्दै यो पटक्कै स्वीकार नहुने बताएको छ ।
बृहत नागरिक आन्दोलनले प्रधान सेनापति अशोक सिग्देलले दुर्गा प्रसाईंसँग बुधबार सैनिक मुख्यालयमा गरेको भेटतर्फ लक्षित गर्दै सेनाको यो भूमिका अति खेदपूर्ण रहेको बताएको छ ।
बिहीबार जारी बृहत नागरिक आन्दोलनको विज्ञप्तिमा जेनजी आन्दोलनमा घुसपेठ गरेर नागरिकप्रति उत्तरदायी राज्यका संस्थाहरु र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वले सैनिक मुख्यालयमै सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य रहेको धारणा सार्वजनिक गरेको छ ।
'जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो', विज्ञप्तिमा भनिएको छ, 'यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौती हो ।'
बृहत नागरिक आन्दोलनले नेपाली सेनालाई प्रतिक्रान्तिकारीसँग सबै किसिमको अन्तर्क्रिया बन्द गर्न माग गरेको छ । र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रम गर्न आग्रह गरेको छ ।
'अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुछ। यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पनि नागरिक समाज तयार छ', विज्ञप्तिमा भनिएको छ ।
बृहत नागरिक आन्दोलनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि दुर्गा प्रसाईंसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने तिनीहरुलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नुपर्ने बताएको छ । विज्ञप्तिमा बालेनलाई पनि आफ्नो कित्ता प्रष्ट पार्न भनिएको छ ।
प्रतिक्रान्तिविरुद्ध रहेका जेनजी युवालाई साथ दिन समग्र नागरिक, राजनीतिक दल, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्ने बृहत नागरिक आन्दोलनले बताएको छ ।
'प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिंदैछ र उहाँहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौं', विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रान्तिलाई परास्त गर्न सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान भएको बृहत नागरिक आन्दोलनले बताएको छ । संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको पनि विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् बृहत नागरिक आन्दोलनको विज्ञप्ति

रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






