नेभिगेशन
Podcasts

अनि नेपाली समाज जुरुक्कै उठायो र, सडकमा आयो

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको सपथका समयमा राष्ट्रपतिले भनेको शब्द निकै अर्थपूर्ण भएको बताएका छन् । 

जेनजी आन्दोलन सफल भएपछि सुशीला कार्की, अन्तरिम सरकारका प्रधानमन्त्री बनिन् । उनको सपथका क्रममा राष्ट्रपतिले भनेका थिए, ‘तपाईँ सफल हुनुहोस्, देश सफल होस्, जनता बचुन ।’ 

यसबारे डा. रिजाल भन्छन्, १९ गतेदेखि अहिलेसम्म थोरै शब्दमा सबभन्दा सुनिने र बुझिने सन्देश राष्ट्रपतिले दिनुभएको छ ।’ 

पूर्व रक्षामन्त्री समेत रहेका उनले नेपाली सेनाको भूमिकाको पनि प्रशंसा गरे । जेनजी आन्दोलनभन्दा केही पहिला मोरङ गएपछि आएपछि कि ०८४ सम्म थप्न सकिन्छ कि सकिन्न भन्ने लागेको छ भन्ने चिन्ता बढेको सुनाए । 

कुराकानीको केही अंश :

  • राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई सपथपछि भन्नुभयो, ‘तपाईँ सफल हुनुहोस्, देश सफल होस्, जनता बचुन ।’ १९ गतेदेखि अहिलेसम्म थोरै शब्दमा सबभन्दा सुनिने र बुझिने सन्देश राष्ट्रपतिले दिनुभएको छ  । अर्को वक्तव्यमा उहाँले ‘बडो जुक्तिसँग’ भन्ने शब्द प्रयोग गर्नुभएको छ । यसको मर्मलाई हामीले आत्मसाथ गरेनौं भने आफ्नो कर्तव्य पहिल्याउन सक्दैनौं भन्ने लाग्छ । 
  • यसक्रममा मेरो राष्ट्रपतिसँग कुनै सम्वाद भएको छैन । केही साथीहरु जो, राष्ट्रपतिसँग सम्वादमा हुनुहुन्थ्यो, उहाँहरु मसँग कुनै न कुनै सम्वादमा हुनुहुन्थ्यो । संविधान के हुन्छ ? संविधानको कुन धारामा छ ? भनेर फोन गर्नुभएको थियो । मैले के सम्म भनेँ भने, जुन धाराबाट पानी आउँछ, त्यही धारामा नुहाउनुपर्छ । नआउने धारामा कता छ भनेर खोजी गरेर हुँदैन । अहिले निकास दिनका लागि यो बाहेक अरु बाटो छैन ।
  • संविधानको धारा ६१ (४) लेख्ने क्रममा अमेरिकाको संविधानमा राष्ट्रपतिको कुरा गर्दा टु प्रिजर्व, प्रोटेक्ट एण्ड डिफेण्ड द कन्स्टिच्युसन छ । हाम्रो संविधान बनाउने क्रममा बालुवाटारमा बसेर राष्ट्रपतिको काम कर्तव्य र अधिकार लेख्ने क्रममा त्यसको नेपाली अनुवाद गरेर लेखिनुपर्छ भनेर राखेँ । त्यसमध्ये प्रिजर्व, प्रोटेक्ट रह्यो, डिफेण्ड वाला छैन । त्यसैले मलाई कहीँ न कहीँ प्रिजर्व र प्रोटेक्ट बाला पद हो भन्ने लाग्छ ।
  • पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा झण्डै तीन चौथाईले समर्थन गरेको सरकारले प्रधानसेनापति हटाउन खोन्दा राष्ट्रपतिले एउटा निर्णय गर्नु भयो । त्यो संवैधानिक हो होइन बहस होला । तर यो निर्णयले एउटा बाटो समात्यो र, संविधान बनाउने दिनसम्म पुग्न एउटा बाटो देखायो ।
  • खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने हुन्छ कि हुन्न भन्नेमा पनि मुद्दा पर्‍यो । अहिलेको प्रधानमन्त्रीले एउटा मत राख्नुभयो । हाम्रै पार्टीका पनि थुप्रै साथीहरुले गलत बाटो हो, अवैधानिक बाटो हो भन्नुभयो ।तर नयाँ संविधानसभाबाट संविधान बन्यो । त्यहाँ नपुग्दासम्म त्यो कदम जस्टिफाइ गर्ने आधार थिएन । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले भनेको पनि परिणामले जस्टिफाई गर्छ, परिणाम ननिस्कने हो भने जस्टिफाई नहुनसक्छ भन्ने हेक्का राखेर भन्नुभएको होला जस्तो लाग्छ । 
  • रामचन्द्र पौडेललाई ३४ सालबाट चिन्छु, नजिकबाट चिन्छु । उहाँले सभापतिमा प्रतिस्पर्धा गरेपछि उहाँको सबै काम गर्ने पार्टीको कारिन्दा झै बसेर काम गरेको हो । कतिपय बेला मेरो स्वभाव अनुसार उहाँलाई मन नपर्ने बोली पनि बोलेको छु जस्तो लाग्छ । यो पटक (१४औं महाधिवेशनमा) जजसको समर्थन जुटाएर उहाँलाई सभापतिको उम्मेदवार बनाउनुपर्छ भनेर सोचेका थियौं, त्यो समर्थन जुटाउन सकेनौं । त्यसपछि महेश आचार्य र मैले चुनाव नलड्नुस भनौं । र, एउटा विन्दुमा के भयौं भने  आजको दिनको राजनीतिमा कहिले कुन किसिमको संकट आउँछ र कसले के भूमिका गर्नुपर्ने हो थाहा छैन । त्यसकारण तपाईँ एक ठाउँमा जोगिएर बस्नुपर्‍यो नि त । आज फर्किएर हेर्दा कहीँ न कहीँ यही काम गर्नका लागि जगेडामा जोगिएर बसेको पात्र जस्तो लाग्छ । 
  • यो निर्णय (सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने दिन) गर्ने विहान निर्वाचन हुन्छ हुँदैन भन्ने विषय आयो । मैले भनेँ, त्यो बेला के हुन्छ थाहा छैन । एक महिनापछि के हुन्छ नै थाहा छैन । तर आज मुलुकले यहाँबाट निस्किनु छ । हामी पलपल जोगाएर आगाडि हिड्ने छौं, अनि, दिन महिनाको कुरा गरौंला । त्यसैले ८३ वर्षको रामचन्द्र पौडेललाई आफूमाथि विश्वास छ भने यो भन्दा अर्को बाटो छैन ।
  • सेना व्यारेकबाट निस्किएपछि कि आत्मसमर्पण गरेर फर्किन्छ कि जे कामका लागि निस्किएको हो, त्यो काम पत्ते गरेर फर्किन्छ । आधा बाटोमा पुगेर आधा सम्यायौं, आधा बाँकी छ भनेर फर्किँदैन ।
  • अहिले पनि एकथरी मान्छेको कम्प्लेन छ, सेना ढिलो आयो । मसँग फस्टह्याण्ड सूचना छैन, तर जुनबेला देशले जुन सेवा खोजेको छ, त्यो पुरा गरेर मात्र व्यारेकमा फर्किन्छौं भन्ने आत्मविश्वास भयो, त्यसपछि आयो । बिचबाटै फर्किनुपर्‍यो, मेरा महत्वकांक्षाहरु पुरा भएन भन्ने भाव लिएर फर्किएको छैन । सानोतिनो कमीकमजोरी भयो भएन भन्ने मुल्यांकन सेना आफैंले गर्ला । दलहरुले पनि गर्लान् । यहाँनिर ३० सेकेण्ड अगाडि हुनुपथ्र्यो कि पछाडि हुनुपथ्र्यो ? ४ जना मान्छे अगाडि हुनुपथ्र्यो कि पछाडि हुनुपथ्र्यो ? फलानो मान्छे जंगी अड्डामा हुनुपथ्र्यो कि हुन पर्दैनथ्यो भन्ने आजको बहस बनाउने हो भने यो निरर्थक हुन्छ । 
  • म आफैं कांग्रेस र एमाले मिल्दा ०८४ सम्म यतिकै चल्छ, ०८४ मा चाहिँ हाम्रो ८४ होला कि भन्ने चिन्ता छ भन्थे । तर जब आफ्नो निर्वाचन क्षेत्र गएँ, तामझाम नगरी मानिसहरुसँग भेटघाट र सम्वाद गरेँ, अर्कै निष्कर्षमा पुगे । साथीहरुसँग कुरा गर्दा कसैले पार्टी छाडेको छैन, तर कहीँ न कहीँ मोहनी हराएको भने जस्तो छ । कसो गर्ने के गर्ने बाटो खोजिरहेको, अत्यास थपिँदैछ कि भन्ने जस्तो पाएँ । अनि, ०८४ सम्म थप्न सकिन्छ कि सकिन्न भन्ने लागेको छ भन्ने निष्कर्षका साथ फर्किएँ । 
  • त्यही बेला सामाजिक सञ्जाल बन्द भयो । त्यही बेला एउटा दैनिकमा ‘जनताको म्यासेज बुझ्नुको सट्टा म्यारेन्जरमाथि आक्रमण भएको छ भनेर अन्तर्वार्ता छापियो । भोलिपल्ट प्रधानमन्त्रीले आफ्नो पार्टीको बैठकमा असाध्यै खिज्जाएर बोलेको सुनेँ । असाध्यै चित्त दुख्यो । तपाईँ कुन ठाउँमा हुनुहुन्छ प्रधानमन्त्रीजी भनेर जवाफ दिउँ कि भन्ने पनि लाग्यो । तर अडिएँ । ३/४ दिनमा सबथोक भयो ।
  • ठूलो भइचालो आएर लडेको मान्छे ब्यालेन्स गुमाउँदै गुमाउँदै उठ्न थालेको जस्तो बेला छ । यस्तो बेला तत्कालीन प्रधानमन्त्री र मेरो पार्टीको मनोदशाबारे कुरा गर्नु राम्रो हुन्न । त्यसैले चर्को बोल्दिन । तर यत्ति चाहिँ भन्छु, जनतामा निराशा थियो । उनीहरू सामाजिक सञ्जाल हेर्थे, आफ्नो आक्रोश पोख्थे । हामीलाई  पनि आफ्नो अनुहार हेर्ने ठाउँ थियो । तर सामाजिक सञ्जाल बन्द गरेपछि गाली गरेर बसेका मानिसहरू जुरुक्क उठेर सडकमा आए । ठूलो संख्यामा अबोध अनुहार देखिन्छ, जो मेरो लिबर्टी चाहिँ खोस्न पाउँदैनौं है भनेर सडकमा आए । त्यसरी सडकमा उत्रिएका मानिसहरुले जुन किसिमको प्रतिरोध सामना गर्नुपर्‍यो, त्यसपछि चाहिँ बाँध टुट्यो भन्ने लाग्छ । 
  • अब बाँध जुटाउने अन्तिम विन्दु के थियो भन्ने होइन, यहाँसम्म पुग्ने केके इलिमेन्ट थियो भन्ने गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्छ । गरेनौं भने जे भयो, त्यसबाट पाठ सिक्दैनौं । फेरि सम्हालिएर अगाडि बढ्न पनि सक्दैनौं । हामी कांग्रेसले पनि एक ठाउँमा उभिएर के भएको हो ? के भएको होइन ? के गुम्यो के बाँकी छ ? समीक्षा गर्नुपर्छ । तर केन्द्रीय कार्यसमिति किन बोलाइएको छैन, मैले बुझेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts