नेभिगेशन
विश्व

मेटाको स्मार्ट AI चश्मामा के-के छ सुविधा ?

स्मार्ट ग्लासेसको दुनियाँमा एउटा नयाँ प्रडक्ट सार्वजनिक भएको छ, जसले तपाईंको फोन चलाइराख्नुपर्ने बाध्यतालाई धेरै हदसम्म कम गरिदिनेछ । 

चश्माबाटै भिडियो कुराकानी गर्न मिल्ने, टेक्स्ट म्यासेज पढ्न र रिप्लाइ गर्न सकिने, अनि म्याप पनि हेर्न सकिने भएपछि खल्तीबाट फोन किन झिक्ने ? 

फेसबुकको माउ कम्पनी मेटाले गत बुधबार यस्तै एउटा चश्मा ल्याएको छ, जसको नाम हो, मेटा रेबान डिस्प्ले । 

०००  

हेर्दा यो सामान्य चश्माजस्तै देखिन्छ । यसको तौल पनि जम्मा ६९ ग्राम मात्र छ । तर यो चश्मा एआई सुविधाहरुले भरिएको छ । 

यो चश्माको दाहिनेपट्टिको लेन्समा एउटा सानो स्क्रिन राखिएको छ । स्क्रिनको टच प्यानल भने मानिसको हातमा घडी झै बाँधिएको हुन्छ । यो घडीजस्तो यन्त्रलाई मेटा न्युरल ब्याण्ड भनिन्छ । 

तपाईले आफ्नो बुढीऔंला चलाउँदा मेटा न्युरल ब्याण्डले नयाँ नयाँ अर्डर पाउँछ र त्यस अनुसारका चश्माको लेन्समा रहेको डिस्प्लेमा नयाँ नयाँ फिचरहरु देखिँदै जानेछ । 

यो चश्मालाई ब्लुटुथको मद्दतले एन्ड्रोइड वा आइफोनमा पनि जोड्न सकिन्छ ।

के-के छ सुविधा ? 

मेटा रे बान डिस्प्लेबाट स्मार्टफोनको स्क्रिनमा गर्न मिल्ने धेरै काम गर्न सकिन्छ । 

यो चश्मामा क्यामेरा राखिएको छ, स्पिकर र माइक्रोफोन पनि राखिएको छ । यो चश्माबाट तपाई आफ्नो म्यासेजहरु चेक गर्न सक्नुहुन्छ, फोटो हेर्न सक्नहुन्छ, ट्रान्सलेसन गर्न सक्नुहुन्छ र मेटा एआईबाट सहयोग पनि लिन सक्नुहुन्छ । 

यो चश्माकै सहायताले तपाई फोटो र भिडियो खिच्न पनि सक्नुहुन्छ । हातमा लगाएको मेटा न्युरल ब्यान्डको सहायताले त्यो फोटो सेलेक्ट गर्न र सेयर गर्न पनि सक्नुहुन्छ । 

यो स्मार्ट ग्लासेसको मद्दतले तपाई ह्वाट्सएपबाट भिडियो कल रिसिभ गर्न सक्नुहुन्छ । त्यस्तै ह्वाट्सएप म्यासेन्जर, इन्स्टाग्राम र तपाईंको फोनमा आएका मल्टिमिडिया म्यासेज र टेक्स्ट म्यासेज पनि पढ्न सक्नुहुन्छ । यो चश्मामा इन्टाग्रामको रिल्स हेर्न पनि मिल्छ । 

यो चश्मामा स्पिकर पनि राखिएको हुन्छ, त्यसैले अर्को व्यक्तिसँग कुराकानी गर्दा इयरफोन लगाइराख्नुपर्दैन । रेष्टुरेन्ट, क्याफे र पार्क जस्ता व्यस्त ठाउँमा कुरा गर्दा पनि यसको साउन्डलाई ब्याकग्राउण्ड न्वाइजले डिस्टर्ब गर्दैन । 

यो चश्माले फ्रेन्च, इटालियन, स्पेनिस र अंग्रेजी भाषा सपोर्ट गर्छ । एयर प्लेन मोडमा राखेर ट्रान्सलेसन सुविधा पनि प्रयोग गर्न सकिन्छ । 

बुधबार मार्क जकरबर्गले यो चश्मामा गीत कसरी बज्छ भनेर प्रयोगात्मक रुपमा नै देखाएका थिए । बुढीऔंला चलाएर भोलुम सानो ठूलो पनि बनाउन सकिन्छ । 

यो चश्माको स्क्रिनमा म्याप पनि हेर्न सकिन्छ । तपाईले डेस्टिनेसन सेट गरेपछि चश्माको डिस्प्लेमा भिजुअल म्याप नै देखिन्छ । तर अहिले यसमा ट्रायलको रुपमा केही शहरहरु मात्र राखिएका छन् । 

मेटा रे बान डिस्प्ले ग्लासेस र यसको न्युरल ब्याडसहितको मूल्य ७९९ डलर तोकिएको छ । सेप्टेम्बर महिनाको ३० तारेखदेखि यो अमेरिकामा बिक्री सुरु हुनेछ । यो चश्मा लार्ज र स्ट्यान्डर्ड गरी दुई साइजमा मात्र पाइन्छ ।

ब्ल्याक र स्यान्ड कलर गरी दुई रङमा मात्र उपलब्ध छ । 

हातमा लगाउने मेटा न्युरल ब्यान्ड भने तीन साइजमा उपलब्ध छ । यो चश्माको ब्याट्री पटक चोटी चार्ज गरेपछि ६ घण्टासम्म टिक्छ भने ब्यान्डमा १८ घण्टासम्म टिक्छ । 

मेटाका सीईओ मार्क जकरबर्गले पछिल्लो १० वर्षदेखि यही चश्मामा काम गरिरहेको बताएका छन् । चश्मामा भएको डिस्प्ले स्क्रिन जसले लगाएको छ उसले मात्र देख्छ, फोटो भिडियो र अरु कन्टेन्टहरु अर्को व्यक्तिले देख्न सक्दैन । यसको डिजाइन नै गोपनीयता कायम रहने गरी बनाइएको छ । 

तर कसैसँग कुराकानी गर्ने क्रममा युजरले डिस्प्ले अफ गरेर राख्न पनि सक्छ । यो डिस्प्ले अफ गरेका बेला भने यो अरु चश्माजस्तै हुन्छ । 

०००

प्रविधिमा भएको द्रुत विकासले मानिसको दिनचर्या नै परिवर्तन गरिदिएको छ । तत्कालै सूचना चाहियो र आफ्ना कुरा छिटै अभिव्यक्त गर्नुपर्‍यो भने अब फोन चलाउने होइन, चश्माबाटै काम चलाउन सकिन्छ । 

यस्तो स्मार्ट ग्लासेस मेटाले ल्याउनुअघि नै बजारमा आइसकेका थिए । यसअघि नै सन् २०१३ मा गुगलले गुगल ग्लास ल्याएको थियो । तर प्रयोगकर्ताले यसलाई मन पराएनन् ।

तर पछिल्ला वर्षहरुमा अहिले प्रोसेसर, ब्याट्री, क्यामेराजस्ता प्रविधिका कारण स्मार्ट ग्लासेसमा धेरै सुधार आएको छ । पछिल्ला वर्षहरुमा स्मार्ट ग्लासेसको मार्केट पनि तिब्र रुपमा बढिरहेको छ । हाल मेटासँगै गुगल, सामसङ र स्न्यापले स्मार्ट ग्लासेसको उत्पादन गरिरहेका छन् ।

मेटासँग मिलेर स्मार्ट ग्लासेस उत्पादन गरिरहेको रेबानका अनुसार हरेक वर्ष मेटा ग्लासेसको मार्केट तीन गुणाले बढिरहेको छ । रेबानले सन् २०२६ देखि हरेक वर्ष मेटा ग्लासेसको १ करोड गोटा उत्पादन गर्ने बताएको छ । 
मेटा रेबान डिस्प्लेसँगै मेटाले अरु दुई स्मार्ट ग्लासेस पनि बजारमा ल्याएको छ । ती हुन् रेबान मेटा जेन टू र न्यू अक्ली मेटा भ्यानगार्ड । 

रेबान मेटा जेन टूको मूल्य ३७९ डलर तोकिएको छ । यसमा भने ८ घण्टासम्म ब्याट्री टिक्छ । यो चश्माले पनि थ्रीके क्वालिटीसम्मको भिडियो खिच्न सक्छ । स्लो मोसन र हाइपर ल्याप्स भिडियो खिच्न पनि सकिन्छ । 
मेटा अक्ली भ्यानगार्ड स्पोर्टस् ग्लासेसको मूल्य भने ४९९ डलर तोकिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व