नेभिगेशन
विश्व

पाकिस्तानले पनि दियो जवाफ : भारतसँगको सीमा बन्द, एयर स्पेस नदिने 

११ वैशाख, काठमाडौं । जम्मु कश्मिरको पहलगाममा आतंकवादी आक्रमणपछि भारतले लगाएको प्रतिबन्धको बदलामा पाकिस्तानले पनि भारतमाथि प्रतिबन्ध लगाएको छ । 

बिहीबार पाकिस्तानले भारतविरुद्ध व्यापार, द्विपक्षीय सम्झौत र हवाई क्षेत्रमा केही प्रतिबन्ध लगाएको हो । 

मंगलबार राति भारतको जम्मुकश्मिरमा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । त्यस घटनापछि भारतले बुधबार पाकिस्तानको अटारी बोर्ड बन्द गर्नुका साथै सिन्धु जलसम्झौता निलम्बन गरेको थियो । 

त्यस्तै भारतमा रहेका पाकिस्तानका रक्षा, नौसेना र हवाइ सुरक्षासँग सम्बन्धित कुटनीतिज्ञलाई एक हप्ताभित्र देश छाड्न निर्देशन दिएको थियो । 

त्यस्तै सार्क भिसा अन्तर्गत पाकिस्तानीलाई भिसा दिन बन्द गर्ने र यो भिसा अन्तर्गत भारत भ्रमणमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न भनेको थियो । 

त्यसको एक दिनपछि पाकिस्तानले पनि भारतमाथि त्यस्तै खालको निर्णयहरु गरेको हो । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफ र रक्षामन्त्री, आन्तरिक मामिलामन्त्री परराष्ट्रमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसहितको बैठकले भारतले लगाएको प्रतिबन्ध एकपक्षीय, अन्यायपूर्ण, राजनीतिप्रेरित र अत्यन्त गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ । 

पाकिस्तानले भारतको यो व्यवहार अन्तर्राष्ट्रिय सन्धि र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अभिसन्धि विरुद्ध रहेको ठहर गरेको छ । 

पाकिस्तानले पनि वाघ बोर्डर बन्द गरेको छ । त्यस्तै भारतसँगको व्यापार र द्विपक्षीय सम्झौतालाई निलम्बन गरेको छ । भारतीय स्वामित्व र भारतीय कम्पनीले सञ्चालन गर्ने विमान कम्पनीलाई एयर स्पेस नदिने निर्णय पनि पाकिस्तानले गरेको छ । 

पाकिस्तानले भारतले सिन्धु जलसम्झौता स्थगित गरेकामा कडा शब्दमा आपत्ति जनाएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा यो सम्झौता बाध्यकारी अन्तर्राष्ट्रिय सम्झौता भएको भन्दै एकतर्फी निलम्बनको प्रावधान नै नभएको बताएको छ । 

‘पानी पाकिस्तानको महत्वपूर्ण राष्ट्रिय मुद्दा हो, यो २४ करोड जनाको लाइफलाइन हो, त्यसैले जुनसुकै मूल्यमा यसलाई सुरक्षित गरिनेछ’ पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भनेको छ । 

पाकिस्तानले पनि भारतले जस्तै सार्क भिसा स्किम अन्तर्गत दिएका भिसाहरु रद्द गरेको छ । तर सिख धर्मावलम्बीलाई भने पाकिस्तान भ्रमणमा रोक लगाएको छैन । भारतका करिब ३ हजार सिख धर्मावलम्बीले हरेक वर्ष पाकिस्तान भ्रमणको भिसा पाउँदै आएका छन् । 

पाकिस्तानले भारतको रक्षा, नौसेना र हवाइ सुरक्षासँग सम्बन्धित व्यक्तिलाई इलामावादबाट फिर्ता पठाउने निर्णय गरेको छ । 

भारतले पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोडेकामा पनि पाकिस्तानले आपत्ति जनाएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भनेको छ, ‘कुनै पनि विश्वसनीय अनुसन्धान प्रमाणित प्रमाण नभई पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास आधारहीन छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व