इजरायलको आक्रमणपछि धमाधम तेहरान छाड्दै इरानी
शुक्रबार सुरु भएको इजरायली आक्रमणका कारण इरानको राजधानी तेहरानको अवस्था बेहाल छ ।
तीन दिनदेखि मिसाइल आक्रमण भइरहेको छ । कतिबेला आफ्नै घरमाथि बम खस्ने हो भन्ने त्रासमा छन् तेहरानका बासिन्दा । उनीहरु तेहरान छाडेर भाग्न चाहन्छन् । ग्रामीण इलाकातिर जान चाहन्छन् । तर तेहरान छाडेर जान सजिलो छैन ।
सडकमा लामो जाम छ । पेट्रोल पम्पमा पनि त्यत्तिकै लाइन छ । मानिसहरु बेचैन छन् ।
‘प्रष्ट भन्नुपर्दा तेहरान सुरक्षित छैन’, तेहरानका एक नागरिकले बीबीसीसँग भनेका छन्, ‘हामीले इजरायली आक्रमणको कुनै वार्निङ पाउँदैनौं । केबल पड्किएपछि मात्र थाहा हुन्छ ।’
इजरायलले शुक्रबार इरानमाथि एक्कासी आक्रमण गरेको थियो । पहिलो दिनकै आक्रमणबाट इरानी सैन्य अधिकारी र न्युक्लियर साइन्टिस्ट मारिएका छन्, आणविक केन्द्रहरु ध्वस्त भएका छन् ।
इजरायलले आणविक केन्द्रहरुलाई मात्र निशाना बनाएको बताएको छ । तर तेहरानको आवासीय क्षेत्रमा पनि मिसाइल खसेको छ ।
इजरायली आक्रमणमा परी सोमबारसम्म इरानमा २२४ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ९० प्रतिशत सर्वसाधारण छन् ।
राजधानी शहर तेहरानको मुख्य क्षेत्रमै निरन्तर बम पड्किरहेको छ । सोमबार बिहान इजरायली सैनिकले इरानको आणबिक केन्द्रहरुमा निरन्तर एयर स्ट्राइक गर्ने चेतावनी दिएको छ ।
इरानकी एक महिलाले बीबीसीसँग भनेकी छन् कि उनी दुई हप्तादेखि निदाउन सकेकी छैनन् । यो घटनाले सन् १९८० को दशकको इरान इराक युद्धको बम आक्रमण सम्झाएको उनले बताएकी छन् । ‘त्यतिबेला साइरन बजाएर कतिबेला बम पड्किन सक्छ भन्ने पूर्वसूचना दिइन्थ्यो, तर अहिले त्यस्तो छैन’ उनले भनेकी छन् ।
तेहरानको युवा पुस्ताले पहिलो पटक युद्धको त्रासदी भोगिरहेको छ । अल जजिराका अनुसार सन् १९८८ मा इरान–इराक युद्धबाहेक इरानसँग युद्धको खासै अनुभव छैन ।
गत वर्ष पनि इजरायलले इरानमाथि केही आक्रमण गरेको थियो । तर त्यसको तुलना अहिलेको आक्रमणसँग हुँदैन ।
इरान सरकारले मेट्रो स्टेशन, स्कुल र मस्जिदहरुलाई आश्रयस्थलको रुपमा प्रयोग गर्ने बताएको छ । तर स्कुल र मस्जिदहरु पनि सुरक्षित देखिएका छैनन् ।
इरानमा इन्टरनेट पनि आउने जाने भइरहेको छ । तेहरान छाडेर बाहिर गएकाहरु आफन्त र साथीभाइलाई म्यासेज गरिरहन्छन् । तर तेहरानबाट रिप्लाइ पाउन सक्दैनन् ।
तेहरानका बासिन्दालाई इजरायली सैनिकहरुले पनि म्यासेज पठाइरहेको छ । उनीहरुले तेहरानको सैन्य इलाका छाड्न भनेका छन् । यो म्यासेजले सर्वसाधारणलाई झन् हैरानी दिएको छ । ‘हामीले कसरी थाहा पाउने कि यो ठाउँ सैन्य क्षेत्र हो कि होइन भनेर,’ तेहरानका एक युवकले बीबीसीसँग भनेका छन् ।
इजरायली आक्रमणको जवाफमा इरानले पनि जवाफी मिसाइल प्रहार गरिरहेको छ ।
इरानको आक्रमणका कारण १३ जना इजरायलीको मृत्यु भएको छ भने ३८० जना घाइते भएका छन् । सबैभन्दा बढी आक्रमण भएको क्षेत्र बात याम भन्ने शहरमा हो । जहाँ ६० भन्दा बढी घरहरु ध्वस्त भएका छन् । तर इरानको जस्तो अवस्था छैन ।
इजरायलको प्रतिरक्षा प्रणाली बलियो छ । शुक्रबार इरानमाथि आक्रमण गरे लगत्तै आपतकाल घोषणा गरेको छ र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न भनेको छ । मिसाइल आक्रमणको पूर्व सूचना दिने साइरन र मोबाइल अलर्ट बजिरहेको छ ।
अनि इजरायलको नेतृत्व अझ आक्रामक देखिएको छ । इजरायलले इरानी सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीलाई खोजिरहेको समाचारहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका छन् ।
अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् कि राष्ट्रपति ट्रम्पले खामनीको हत्या गर्ने योजना अस्वीकार गरेका छन् ।
राष्ट्रपतिले सार्वजनिक रुपमा केही बोलेका छैनन्, तर अधिकारीहरुलाई उध्रित गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले बताएअनुसार राष्ट्रपति ट्रम्पले खामेनीको हत्या गर्ने योजना ठीक होइन भनेका छन् ।
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा इजरायली नेतान्याहूले ट्रम्पले भिटो प्रयोग गरेको विषयमा प्रष्टसँग खण्डन वा पुष्टि दुबै गरेनन् । उनले भने, ‘यस्ता धेरै झुटा रिपोर्टहरु छन्, जो कहिल्यै भएको थिएन । त्यसैले म यसबारे केही बताउन चाहन्न ।’
तर इजरायलले जे गर्नुछ, त्यो चाहिँ गरिछाड्ने उनले बताए । एक इजरायली अधिकारीले सीबीएस न्यूजलाई बताए अनुसार सिद्धान्ततः इजरायल राजनीतिक नेताको हत्या गर्न चाहँदैन । परमाणु र सैन्य विषयमा मात्र ध्यान केन्द्रित छ ।
तर यस कार्यक्रमबारे निर्णय लिने कुनै पनि व्यक्ति स्वतन्त्र र आरामसँग बस्न नसक्ने उनको दाबी छ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)