फोन कल लिक भएपछि थाइल्याण्डकी प्रधानमन्त्री अप्ठेरोमा

एउटा फोन कल लिक भएपछि थाइल्याण्डकी प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा अहिले अप्ठेरोमा परेकी छन् ।
उनीमाथि राजीनामा दिन दबाब बढेको छ । प्रमुख सत्ता सहयात्रीले साथ छाडिसकेको छ । यही कारण फेरि सैनिक कु हुने आशंकाहरु पनि भएका छन् ।
थाइ प्रधानमन्त्री पेतोङत्रान सिनावात्राले छिमेकी देश कम्बोडियाका प्रभावशाली नेता हुन सेनसँग १५ जुनमा १७ मिनेट टेलिफोन कुराकानी गरेकी थिइन् । त्यो फोन कल १८ जुनमा हुन सेनले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिदिए ।
लिक भएको अडियोमा प्रधानमन्त्री पेतोङत्रानले हुन सेनप्रति धेरै लोयल्टी देखाएको र आफ्नो देशको सेनाको आलोचना गरेको आरोप छ ।
लिक भएको अडियोमा प्रधानमन्त्री पेतोङत्रानले हुन सेनसँग दोभासेमार्फत कुरा गरेकी छन् । जसमा उनले हुन सेनलाई अंकल भनेर सम्बोधन गरेकी छन् । अनि सीमा विवादका कारण आफ्नो सरकारले नागरिकबाट आलोचना खेपिरहेको भन्दै सामान्य आवतजावत गर्न दिने गरी संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव गरेकी छन् ।
अनि थाइ सेनालाई लक्षित गर्दै ‘अर्को पक्षको वास्ता नगर्नुस्’ भनेकी छन् । सेनाको विज्ञप्ति समस्या समाधानका लागि सहयोगी नभएको भन्दै आफ्नै सेनाको आलोचना गरेकी छन् ।
सेनाप्रति व्यक्त गरेको धारणालाई लिएर प्रधानमन्त्री पेतोङत्रानको निकै आलोचना भएको छ । उनले देशको सार्वभौमसत्ताको ख्याल नगरेको भन्दै राजीनामा समेत माग भएको छ ।
थाइ प्रधानमन्त्रीसँग कुरा गर्ने कम्बोडियाका नेता हुन सेन अहिलेका प्रधानमन्त्री हुन मानेतका बाबु हुन् । ४० वर्ष कम्बोडियामा शासन गरेका हुन सेन सन् २०२४ मा मात्र सरकारबाट बाहिरिएका थिए ।
थाइल्याण्डको सिनावात्रा परिवारको कम्बोडियाको हुन परिवारसँग दशकौं पुरानो सम्बन्ध छ । थाइ प्रधानमन्त्री पेतोङत्रानका बाबु पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबीच दाजुभाइको जस्तो सम्बन्ध थियो ।
आलोचना भएपछि पेतोङत्रानले अब कम्बोडियाका नेतासँत निजी कुरा नगर्ने बताएकी छन् ।
कम्बोडियाका नेता हुन सेनले भने आफूले उक्त अडियो क्लिप ८० जना राजनीतिकर्मीलाई सेयर गरेको र तीमध्ये एक जनाले लिक गरेको बताएका छन् ।
प्रधानमन्त्रीको दल फिउ थाइ पार्टीसँग गठबन्धनमा रहेको मुख्य दल भूमिजैथाइले प्रधानमन्त्रीको फोन कल लिक भएको दिन बुधबार नै गठबन्धन छाडेको घोषणा गरेको छ । उसले पेतोङत्रानको भनाइले देश र सेनाको गरिमामा आँच पुगेको टिप्पणी गरेको छ ।
संसदमा ६९ सिट रहेको भूमिजैथाइ पार्टीले गठबन्धन छाडेपछि प्रधानमन्त्री पेतोङत्रानलाई गम्भीर धक्का लागेको छ । भूमिजैथाइले गठबन्धन छाड्दा पेतोङत्रानको पक्षमा सामान्य बहुमत मात्र पुग्छ ।
तर गठबन्धनमै रहेको युनाइटेड थाइ नेसन पार्टी र डेमोक्र्याट पार्टीले पनि बिहीबार बैठक बोलाएका छन् । यी दुई दलले पनि गठबन्धनमा नबस्ने निर्णय गरेमा पेतोङत्रानको सरकार ढल्नेछ । त्यसपछि अर्को गठबन्धन बन्नेछ वा नयाँ चुनाव हुनेछ ।
फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री पेतोङत्रान भने रक्षात्मक बनेकी छन् । उनले आफू सीमा समस्या समाधान गर्न नरम देखिने प्रयास गरेको र त्यस क्रममा केही अनुपयुक्त कुराहरु पनि गरेको स्वीकार गरेकी छन् । र उनले यसलाई सीमा विवाद समाधान गर्ने रणनीतिका रुपमा पनि व्याख्या गरेकी छन् ।
थाइल्याण्ड र कम्बोडियाबीचको सीमा विवादले अहिले दुई देशको सम्बन्ध इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ ।
कम्बोडियाले थाइल्याण्डबाट तरकारी, फलफूल जस्ता उपभोग्य वस्तु् र बिजुली तथा इन्टरनेट आयातमा प्रतिबन्ध लगाएको छ । सीमा विवादकै कारण कम्बोडियाले थाइल्याण्डको नाटक, टिभी च्यानल र सिनेमाहरुमा पनि प्रतिबन्ध लगाएको छ ।
दुई देशले एक अर्का देशका नागरिकलाई सीमा कटेर आवत जावतमा रोक लगाएका छन् ।
हुनत थाइल्याण्ड र कम्बोडियाबीचको सीमा विवाद झण्डै एक शताब्दी अगाडिदेखिको हो ।
कम्बोडियामा फा्रन्सको शासन रहेका बेला दुई देशबीचको सीमा रेखा कोरिएको थियो । त्यतिबेला देखि नै विवाद सुरु भएको हो ।
विगतमा भने कहिलेकाहीँ मात्र सीमा विवादको विषय उठ्थ्यो । सन् २०२५ को मे महिनामा भने दुई देशका सैनिकबीच गोली हानाहान नै भयो । दुबै देशले भने आफूले आत्मरक्षा मात्र गरेको भन्दै अर्को देशलाई दोष लगाउँदै आएका छन् ।
थाइल्याण्डमा वर्तमान सरकार त्यसै अप्ठेरोमा परिरहेको थियो । सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दलले गृह मन्त्रालय माग गरेर असन्तुष्टि जनाइरहेको थियो ।
गठबन्धनभित्रको विवादका कारण सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन पनि सकेको छैन ।
सन् २०२४ को चुनावबाट ३८ वर्षकी पेतोङत्रान प्रधानमन्त्री बनेकी थिइन् । उनको फिउ थाइ पार्टीले दक्षिणपन्थी दलहरुसँग मिलेर गठबन्धन बनाएको थियो ।
गठबन्धनमा आवद्ध दलहरु सत्ता स्वार्थले मात्र एक ठाउँमा आएका थिए । नभए अहिले पेतोङत्रानका सहयात्रीहरु विगतमा उनका बाबु थाक्सिन सिनावात्राका विरोधीहरु थिए ।
यो विवादले थाइल्याण्डमा संसद विघटन र सैन्य कु सम्म हुन सक्ने कतिपयले अनुमान गरेका छन् । किनकी लिक भएको अडियोमा प्रधानमन्त्रीले सेनाविरोधी अभिव्यक्ति दिएकी छन् । प्रधानमन्त्रीको फोन कल सार्वजनिक भएपछि सेनाले पनि वक्तव्य दिएको छ ।
आर्मी चिफले प्रजातान्त्रिक प्रणाली र मुलुकको सार्वभौमसत्ताको रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । उनले मुलुकको सार्वभौमसत्ताको रक्षाका लागि सबै नागरिक एकजुट हुनुपर्ने पनि बताएका छन् ।
थाइल्याण्डमा सेनाले शक्तिशाली मानिन्छ । राजनीतिकर्मीहरु सेनाको इच्छाविपरीत जान सक्दैनन् ।
सन् १९३२ मा राजतन्त्रको अन्त्य भएपछि थाइल्याण्डमा एक दर्जन भन्दा बढी पटक सैन्य कु भइसकेको छ ।
सैन्य कु कै कारण प्रधानमन्त्री पेतोङत्रानका बाबु थाक्सिन सिनावात्रा र फुपु यिनलक सिनावात्राले पनि पद छाड्नुपरेको थियो । त्यसैले सैन्य कु कै कारण पद गुमाउनेमा पेतोङत्रान सिनावात्रा परिवारको तेस्रो सदस्य बन्न सक्ने अनुमानहरु पनि भएका छन् ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)