इजरायल–इरान सम्बन्ध : रणनीतिक साझेदारदेखि दुष्मनीसम्म
अहिले इजरायल र इरानको युद्धले सिंगो विश्व प्रभावित भएको छ । कुनै समय असल मित्र रहेका इजरायल र इरान किन अहिले एक अर्काका दुश्मन बने ।
१३ जुनमा इजरायलले फेरि एक पटक इरानमाथि आक्रमण गर्यो । इरानमाथि भएको आक्रमणलाई उसले अपरेशन राइजिङ लायन नाम दिएको छ र, इरानको सैन्य तथा परमाणु अड्डाहरुलाई निशाना बनाएको छ ।
जवाफमा इरानले पनि इजरायली शहरमा ड्रोन र ब्यालेस्टिक मिसाइल हानिरहेको छ ।
इरान र इजरायल सीमा जोडिएका देश होइनन् । दुई देशको बीचमा त दुईवटा देश छन्, जोर्डन र इराक । त्यसैले उनीहरुबीच सीमा वा समुद्र प्रयोगसम्बन्धी विवाद पनि छैन । तथापि एक सातादेखि एक अर्कामाथि हवाइ आक्रमण गरिरहेका छन् ।
यो युद्ध रोकिने संकेत पनि देखिएको छैन ।
प्यालेस्टाइनमा ब्रिटिस उपनिवेश अन्त्य भएपछि १९४८ मा त्यसकै एक क्षेत्र इजरायल छुट्टै देश बन्यो । धेरै मुस्लिम देशहरुले इजरायललाई मान्यता दिन अस्वीकार गरे । जतिबेला प्यालेस्टाइन विभाजनको मुद्दा उठेको थियो, त्यसबेला इरानले पनि विरोध गरेको थियो ।
तर त्यसका बाबजुद इजरायललाई मान्यता दिने मुस्लिम बहुल देशहरुमा टर्कीपछि इरान रह्यो ।
इरानले इजरायललाई समर्थन गर्नुको कारण थियो, अमेरिका । त्यतिबेला इरानमा शाह मोहम्मद रेजा पहल्वी राजा थिए र, इरान मध्यपूर्व क्षेत्रमा अमेरिकाको प्रमुख सहयोगी मानिन्थ्यो ।
इजरायल स्थापनादेखि नै अमेरिकाको छत्रछायामा थियो । त्यसैले इरानले इजरायललाई मान्यता दियो । अप्ठ्यारो बेलामा समर्थन दिएका कारण इजरायलका संस्थापक प्रधानमन्त्री डेभिड बेन गुरियनले पनि अरु छिमेकी देशका असन्तुष्टिका बाबजुद इरानसँग मित्रता कायम राखे ।
१९७९ सम्म दुबै देशको सम्बन्ध सुमधुर रह्यो । तर इरानमा त्यही वर्ष इस्लामिक क्रान्ति भयो । पहल्वी वंशले नेतृत्व गरेको राजतन्त्र ढल्यो ।
इरान इस्लामिक गणराज्य बन्यो । त्यही क्रान्तिले नै आधारभूत रुपमा इरान र इजरायलको सम्बन्ध खलबल्यायो ।
इरानमा क्रान्ति हुँदा बिद्रोही नेता थिए, रुहोल्ला खोमेनी । क्रान्ति सफल भएपछि उनी नै राज्यप्रमुख भए । खोमेनी नेतृत्वको सरकारले इरानको विदेश नीतिमा आमूल परिवर्तन गर्यो । इरानले शोषणमा परेका मुस्लिम देशरुलाई समर्थन गर्ने रणनीति लियो । खोमेनीले आफूलाई पीडितहरुको रक्षकका रुपमा प्रस्तुत गरे । यसको मतलब थियो, प्यालेस्टाइनको समर्थन ।
खोमेनी सरकारले इजरायलसँगको सबै सम्बन्ध तोड्यो । इजरायली नागरिकले इरान भ्रमण गर्न रोक लगाइयो । अनि इरानले तेहरानमा रहेको इजरायली दूताबासलाई कब्जामा लिएर प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) लाई दियो । पीएलओ अलग प्यालेस्टायनी राष्ट्रको माग राख्दै इजरायलविरुद्ध संघर्ष गरिरहेको थियो ।
इन्टरनेशनल क्राइसिस ग्रुप सेन्टरमा इरान कार्यक्रमका निर्देशक अली वेजका अनुसार इजरायलसँगको दुश्मनी इरान सरकारको आधारभूत सिद्धान्त नै थियो ।
यसको एउटा कारण थियो कि सरकारमा संलग्न कयौं नेताले प्यालेस्टाइनीहरुसँग लेबनान जस्ता ठाउँमा गुरिल्ला तालिम लिएका थिए । त्यही कारण उनीहरुको मनमा प्यालेस्टाइनप्रति गहिरो सहानुभूति थियो ।
साथसाथै प्यालेस्टाइनको मुद्दा उठाउनुको पछाडि आफूलाई एक इस्लामी शक्तिको नेताका रुपमा प्रस्तुत गर्ने इरानको चाहनाले पनि काम गरेको थियो ।
त्यसक्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खोमेनीले प्यालेस्टाइनको मुद्दामा आफ्ना मत राख्न थाले ।
अमेरिका र इजरायलतिर लक्षित गर्दै अहंकारी विश्व शक्ति र उसका क्षेत्रीय सहयोगीहरुले आफ्नो स्वार्थ पूरा गर्न प्यालेस्टाइनमाथि दमन गरेको बताउँथे । त्यसपछि तेहरानमा प्यालेस्टाइन समर्थकहरुको ठूलठूला प्रदर्शन आयोजना हुनु सामान्य भयो ।
यस्ता प्रदर्शनमा इरान सरकारको पनि समर्थन हुन्थ्यो ।
त्यसका बाबजुद पनि इजरायलले भने इरानलाई असली दुश्मनका रुपमा व्यवहार गरेको थिएन ।
किनकी इजरायलले सबभन्दा बढी खतरा सद्दाम हुसेनको इराकलाई मानेको थियो ।
यति मात्र होइन, त्यो बेला इजरायल, इरान कन्ट्रा डिलको मध्यस्थर्तामध्ये एक थियो । इरान कन्ट्रा डिल त्यो गोप्य कार्यक्रम हो, जसमा १९८० देखि १९८८ को अवधिमा इराकविरुद्ध युद्धमा लडेको इरानलाई अमेरिकाले पटकपटक हतियार दिएको थियो । इराकको बग्दाद नजिकैको न्यूक्लियर रियाक्टरमा इरानले गरेको आक्रमणमा त इजरायलले सक्रिय सैन्य सहयोग नै गरेको थियो ।
तर समयक्रमसँगै इजरायलले इरानलाई आफ्नो अस्तित्वमाथि खतराका रुपमा हेर्न थाल्यो ।
०००
इरानमा मुख्यतः इस्लामभित्रको सिया समुदायको बाहुल्य छ । जबकी अरब जगतका अरु देशहरुमा सुन्नी बहुल छ । इरानको सरकारलाई लाग्यो कि विरोधी देशले कुनै पनि दिन आक्रमण गर्न सक्छ ।
यही आशंकाका कारण उसले एउटा रणनीतिक योजनामा काम गर्न थाल्यो । त्यसपछि इरानसँग गठबन्धन गर्ने देशहरुको एउटा नेटवर्क तयार भयो ।
यसक्रममा इरानले १९८० र १९९० को दशकमा लडाकु दस्तालाई स्पोन्सर गर्यो । मुख्यतः लेबनानको हेजबुल्लाह र प्यालेस्टाइनको हमासलाई ।
इरानले उनीहरुलाई सैनिक तालिम र हतियार खरिदमा सहयोग गथ्र्यो । आजको दिनमा इरानको अघोषित सैन्य गठबन्धन लेबनान, सिरिया, इराक र यमनसम्म फैलिएको छ ।
इजरायल पनि किन चुप बस्थ्यो ? उसले पनि इरानका सहयोगी सशस्त्र समूहहरुलाई लक्षित गरेर आक्रमण गर्यो । यो आक्रमण धेरै जसो तीन देशमा भयो, जहाँ इरानले आफ्ना समर्थक सशस्त्र संंगठनलाई पैसा र स्रोत साधन दिन्थ्यो ।
इरान र इजरायलको यो टकराबलाई स्याडो वार भनेर पनि चिनिन्छ । छायाँ युद्ध यसकारण भनिएको हो कि दुबै देशले धेरैजसो आफ्नो कारबाही स्वीकार गर्दैनन्, तर एकअर्कालाई निशाना बनाउँछन् ।
२०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इरान र इजरायलबीच पनि युद्ध भएको थियो । इजरायलले इरानमाथि ड्रोन र मिसाइल हानेको थियो । इरानले पनि त्यसको जवाफ फर्काएको थियो । तर त्यतिबेला दुई देशबीच घोषित युद्ध थिएन ।
तर अहिले दुई देशबीच घोषित रुपमै युद्ध त भइरहेको छ । यो युद्धले यी दुई देशबीचको सम्बन्ध विश्वकै सबैभन्दा सत्रुतापूर्ण देखिएको छ ।
०००
इरानको परमाणु कार्यक्रमलाई रोक्ने र उसलाई परमाणु हतियार सम्पन्न बन्न नदिने इजरायलको प्रमुख लक्ष्य हो ।
इरानले आफ्नो परमाणु कार्यक्रम केवल नागरिक उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ । तर इजरायलले यसलाई मानेको छैन ।
के सम्म भनिन्छ भने इजरायलले अमेरिकाको सहयोगमा स्टक्सनेट नामक एउटा कम्युप्टर भाइरस विकसित गरेको थियो, जसले यो शताब्दीको पहिलो दशकमा इरानको परमाणु कार्यक्रममा ठूलै क्षति पुर्यायो ।
आफ्नो परमाणु कार्यक्रमका प्रमुख र वरिष्ठ वैज्ञानिकहरुमाथि भएको आक्रमणको जिम्मेवार इजरायली खुफिया एजेन्सी भएको इरानको ठहर छ । यसमा सबैभन्दा उल्लेखनीय घटना २०२० मा मोहसिन फखरीजादेहको हत्या थियो ।
यद्यपि इजरायल सरकारले कहिल्यै यस्ता हत्यामा आफ्नो संलग्नता स्वीकार गरेन ।
१३ जुनमा आक्रमणको सुरुवातमा पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको परमाणु कार्यक्रमलाई निशाना बनाएको बताएका थिए ।
तर दुबै देश एकअर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । अब यसमा अमेरिका समेत संलग्न भएको छ, जसले मध्यपूर्वसँगै विश्वभर नयाँ युद्धको जोखिम बढाएको छ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)