दलाइ लामाको उत्तराधिकारीमा चीन र अमेरिकाको के स्वार्थ ?
तिब्बतका धार्मिक गुरु दलाइ लामा अर्को हप्ता ९० वर्ष पुग्दैछन् ।
उनको ९० औं जन्मदिन नजिकिएपछि एउटा विषयले निकै चर्चा पाएको छ,
त्यो हो अब उनको उत्तराधिकारी को होलान् ?
उत्तराधिकारीको विषयले चर्चा पाउनुको खास कारण छ,
दलाइ लामाले आफ्नो पुस्तकमा उत्तराधिकारी तिब्बत भन्दा बाहिर जन्मेको संकेत गरेका छन् । उनले ९० औं जन्मदिनको आसपासमा आफ्नो उत्तराधिकारीबारे बताउने पनि भनेका छन् ।
दलाइ लामाले आफ्नो उत्तराधिकारीबारे मुख खोलेपछि अहिले यो उनको अनुयायीहरुको मात्र चासोको विषय रहेन । यसमा चीन, अमेरिका र भारतको समेत चासो देखिएको छ ।
दलाइ लामाले सन् १९८९ मा नोबल शान्ति पुरस्कार जितेका थिए । उनी विश्वकै परिचित वौद्ध भिक्षु मात्र होइन, प्रभावशाली व्यक्ति भित्र पर्छन् । उनी १४ औं पुस्ताका दलाइ लामा हुन् । र उनले तिब्बती स्वतन्त्रताको पक्षमा निरन्तर वकालत गर्दै आइरहेका छन् ।
उनका अनुयायी वुद्ध धर्मावलम्बीमा मात्र सीमित छैन, त्यस भन्दा बाहिर पनि ठूलो संख्यामा छन् ।
तिब्बती परम्परामा दलाइ लामाको मृत्युपछि मात्र उनको अनुयायी छनोट गरिन्छ । दलाइ लामाको आत्माले उनको मृत्युपछि पुनर्जन्म लिन्छ भन्ने विश्वास छ । वरिष्ठ बौद्ध भिक्षुहरुले दिवंगत दलाइ लामाको विशेषता देखाउने बच्चालाई अर्को दलाइ लामाको रुपमा छनोट गर्नेछन् ।
१४ औं दलाइ लामाको जन्म सन् १९३५ जुलाइ ६ मा तिब्बतीको उत्तरपूर्वी क्षेत्रको एक किसान परिवारमा भएको हो । सुरुमा उनको नाम ल्हामो डोन्डुप थियो । त्यतिबेला तिब्बत देश छुट्टै अस्तित्वमा थियो र दलाइ लामा त्यहाँको राज्य संरचनाकै एउटा अंग थियो ।
१३ औं दलाइ लामा थुप्तेन ग्यास्टोको सन् १९३३ मा ५७ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि तिब्बत सरकारले बनाएको खोजी कार्यदलले ल्हामो डोन्डुपलाई दलाइ लामाको उत्तराधिकारीको रुपमा छनोट गरेको थियो । त्यतिबेला उनी जम्मा २ वर्षका थिए । उनले देखाएको व्यवहार र बोलेका केही शब्दका आधारमा खोजकर्ताहरुले दलाइ लामाको उत्तराधिकारी उनै हो भन्ने पहिचान गरेको थियो ।
त्यसपछि सन् १९४० मा ल्हामो थोन्दुपलाई ल्हासाको पोताला दरबार लगियो र दलाइ लामाको मान्यता दिइयो ।
तिब्बतलाई चीनले आफ्नो नियन्त्रणमा लिएपछि दलाइ लामा सन् १९५९ देखि उत्तरी भारतमा निर्वासनमा बस्दै आएका छन् ।
भारतको उत्तरी क्षेत्रमा पर्ने धर्मशालामा उनी बस्छन् । विगतमा तिब्बत सरकारको खोजी कार्यदलले दलाइ लामाको उत्तराधिकारी छनोट गर्दै आएकामा अब के गर्ने भन्ने प्रश्न छ । किनकी निर्वासनमा रहेका बेला कसरी दलाइ लामाको उत्तराधिकारी छनोट गर्ने भन्ने कुनै नियम छैन ।
दलाइ लामाले सन् २०१५ मा एउटा फाउन्डेसन स्थापना गरेका छन् । यसको उद्देश्य दलाइ लामा संस्थाको परम्परा संरक्षण गर्ने रहेको छ ।
सम्भवत यही फाउन्डेसनले नै हालका दलाइ लामाको उत्तराधिकारी खोज्ने उनका अनुयायीहरुको भनाइ छ ।
‘नयाँ दलाइ लामा स्वतन्त्र संसारमा जन्मिनेछ’, दलाइ लामाले गत मार्चमा प्रकाशित आफ्नो पुस्तक भ्वाइस अफ द भ्वाइसलेसमा लेखेका छन् ।
यो भनाइले चीनको टाउको दुखाएको छ । किनकी चीनले दलाइ लामाको पुनर्जन्मको अनुमोदन गर्ने अधिकार आफ्नो हुने दाबी गर्दै आएको छ ।
दलाइ लामा निर्वासनमा गएपछि चीनले तिब्बतमा पञ्चेन लामालाई स्थापित गरिसकेको छ, जो तिब्बती बौद्ध धर्ममा दोस्रो सर्वोच्च नेताका रुपमा चिनिन्छन् ।
चिनियाँ अधिकारीले पटक पटक भन्दै आइरहेका छन् कि दलाइ लामा को हुने भन्ने निर्धारण देशको कानुनले गर्नेछ ।
चीनले दलाइ लामाको उत्तराधिकारी छनोटबाट तिब्बती स्वतन्त्रता आन्दोलनलाई निष्प्रभावी पार्ने आशा राखेको छ ।
तर दलाइ लामाका अनुयायीहरु भने चीनलाई छान्न दिने पक्षमा छैनन् ।
कम्युनिस्ट शासन रहेको र धर्मलाई निषेध गर्ने चीनले दलाइ लामाको उत्तराधिकारी छान्नु उचित नहुने उनीहरुको धारणा छ ।
चीनले दलाइ लामालाई पृथकतावादी भन्दै आएको छ । त्यसैले चीनमा उनको तस्वीर देखाउन र उनीप्रति श्रद्धाभाव राख्नसमेत बन्देज छ ।
सन् २०२५को मार्चमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाइ लामा राजनीतिक शरणार्थी भएको बताएका छन् । उनलाई तिब्बती नागरिकको प्रतिनिधित्व गर्ने अधिकार नभएको बताएका थिए ।
दलाइ लामाको उत्तराधिकारीको विषयमा अमेरिका र भारतको पनि चासो छ ।
भारतमा दलाइ लामा बाहेक एक लाख जना तिब्बती बौद्ध धर्मावलम्बी रहेको अनु्मान छ ।
धेरै भारतीयहरुले दलाइ लामालाई सम्मान गर्छन् । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरु भन्छन् कि भारतमा उनको उपस्थितिले नयाँ दिल्लीलाई चीनसँग सम्बन्ध राख्ने मामिलामा केही लाभ समेत पुगेको छ ।
अमेरिकाका लागि पनि दलाइ लामाको विषय महत्वपूर्ण छ, किनभने विश्वभर अमेरिकालाई टक्कर दिने चीन नै हो । दलाइ लामाको उत्तराधिकारी आफू अनुकुल अर्थात् चीन निकट नहोस् भन्ने अमेरिकाको चाहना छ ।
अमेरिकाले पटक पटक तिब्बती नागरिकको मानव अधिकार हनन भएको विषय उठाउँदै आएको छ ।
अमेरिकाका केही सांसदले दलाइ लामाको उत्तराधिकारी छनोटमा चीनको हस्तक्षेप सह्य नहुने भन्ने अभिव्यक्ति दिएका छन् ।
सन् २०२४ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा कानुन पास गरेका थिए । जसमा तिब्बतीहरुको माग पूरा गर्न चीनलाई दबाब दिने आशय छ ।
अहिले विश्व नै दलाइ लामाको ९० औं जन्मदिन र उनको बहुप्रतिक्षित भाषण सुन्न उत्सुक छ । सबैको ध्यान उनको उत्तराधिकार योजना कसरी अगाडि बढ्छ भन्नेमा छ । अनि त्यसप्रति चीन, भारत र अमेरिकाले कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेमा पनि धेरैको चासो छ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)