न्यूयोर्क हल्लाइरहेका एक आप्रवासी, जो मेयरको दौडमा छन्
राष्ट्रपति ड्रोनाल्ड ट्रपले आप्रवासीप्रति कडा रबैया अपनाइरहेका बेला न्यूयोर्क शहरको माहोेल अर्कै छ ।
३३ वर्षका जोहरान ममदानी मेयरको उम्मेदवार बन्दैछन् । त्यो पनि डेमोक्र्याटिक पार्टीबाट । उनले प्राइमरी जितिसके ।
अब उनको पार्टीले पछिल्ला दुई चुनावको जस्तै नातिजा ल्याउन सक्यो भने भारतीय मूलका ममदानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर हुनेछन् । अनि, सन् १९१४ पछिको सबैभन्दा कान्छो मेयर पनि बन्ने छन् ।
मेयरको उम्मेदवार बन्ने पक्का भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प उनीमाथि खनिएका छन् । ट्रम्पले ममदानीलाई कम्युनिस्ट र पागल भनेका छन्, अनि गैरकानुनी आप्रवासीका रुपमा पक्राउ पर्न सक्ने बताएका छन् ।
एकातिर डेमोक्र्याटिक पार्टीको प्राइमरीमा भेट्रान आकांक्षीहरुलाई हराएको, अर्कातिर राष्ट्रपति नै गाली गलौजमा उत्रिएका कारण ममदानी न्यूयोर्कमा मात्र होइन, संसारभर चासोको विषय बनेका छन् ।
जोहरान ममदानी भारतीय मूलका हुन् । उनको जन्म युगाण्डाको कम्पालामा भएको थियो । उनी ७ वर्षको हुँदा उनको परिवार न्यूयोर्क बसाईं सरेको थियो ।
ममदानीका बाबु मोहम्मद ममदानी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् । अनि आमा सिमरा नाइर भने फिल्म निर्देशक हुन् ।
ममदानी आफूलाई लोकतान्त्रिक समाजवादी राजनीतिकर्मी बताउँछन् । उनी आठ महिनाअघि क्वीन्स क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । प्रदेशसभा सदस्य हुँदासम्म उनी लो प्रोइफाइलमा थिए ।
तर मेयरको उम्मेदवार बन्न डेमोक्र्याटिक पार्टीको प्राइमरी जितेपछि एकाएक चासो र चर्चाको पात्र बनेका छन् ।
मेयरमा दौड सुरु गर्दा ममदानीको सम्भावना देखिएको थिएन । किनभने उनको नाम त्यति ठूलो होइन, न पैसा नै धेरै भएको मानिस हुन् ।
उनीसँग प्रतिस्पर्धा गर्ने मानिसहरु भने ठूलो नामका थिए । स्थापित राजनीतिकर्मी ब्राड लान्डर र स्कट स्ट्रिङ्गर पनि मेयरको उम्मेदवार बन्ने दौडमा थिए ।
एन्ड्र्यु कोमो त तीन कार्यकालसम्म न्यूयोर्कको गभर्नर भएका व्यक्ति हुन् । उनी डेमोक्र्याट पार्टीको संस्थापनले रुचाएका पात्र पनि हुन् ।
तर ६७ वर्षका अनुभवी राजनीतिकर्मी एन्ड्र्यु कोेमो आफू भन्दा आधा उमेरका ममदानीसँग पराजित हुन पुगे ।
ममदानीले चुनावी अभियान पनि फरक ढंगले सञ्चालन गरेका थिए । उनले मतदातालाई प्रभाव पार्ने बाटो खोजे ।
चुनावी अभियानका क्रममा ५० हजार स्वयंसेवक परिचालन गरे । आफ्नो चुनावी अभियान मुख्य शहर भन्दा बाहिर सामान्य मानिसहरुलाई लक्षित गरे ।
सबभन्दा ठूलो कुरा, न्यूयोर्कका युवा मतदाताले मूलधारका राजनीतिकर्मीलाई रुचाएनन् । प्राइमरीको नतिजाले त्यही देखायो ।
न्यूयोर्कको मेयर चयनका लागि आगामी नोभेम्बर ४ मा चुनाव हुँदैछ । चुनावमा उनका लागि अनुकुलता र प्रतिकुलता दुबै छ ।
प्राइमरी जितेको भोलिपल्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई शत प्रतिशत कम्युनिस्ट पागलको संज्ञा दिए ।
जब इलेक्सन बोर्डले ममदानीले जितेको घोषणा गर्यो, ट्रम्पले भने कि ‘हामी उनलाई पक्राउ गर्न सक्छौं, हेर्दै जानुस्, यो देशलाई कम्युनिस्ट चाहिएको छैन, म उनलाई राष्ट्रको तर्फबाट राम्ररी नियालिरहेको छु ।’
धनाढ्यहरु उनीहरुसँग खुसी छैनन् । अपार्टमेन्टको भाडा नबढाउने र १० लाख डलर भन्दा बढी कमाउनेहरुलाई कर बढाउने ममदानीको नीति उनीहरुलाई मन परेको छैन । उनीहरु हालका मेयर एरिक एडम्स दोहोरिउन वा डेमोक्रेटिक पार्टीको प्राइमरीमा पराजित भएका एन्ड्र्यु कोमो मेयर बननु भन्ने चाहन्छन् ।
२०२१ मा डेमोक्र्याटिक पार्टीबाट चुनाव जितेका वर्तमान मेयर एरिक एडम्सले यस पटक स्वतन्त्र उम्मेदवारी दिने बताइसके । डेमोक्र्याटिक पार्टीको प्राइमरीमा पराजित भएका एन्ड्र्यु कोमोले पनि आफू चुनावी रेसमै रहेको बताएका छन् ।
न्यूयोर्कका व्यापारिक समुदायले एडम्स र कुमोमध्ये एकलाई मेयर जिताउन सहयोग गर्न सक्ने अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
न्यूयोर्कको जनसांख्यिक स्थिति भने ममदानीका लागि अनुकुल देखिन्छ । मतदातामध्ये २० प्रतिशत यहुदी भएको अनुमान छ । अनि १२ प्रतिशत बासिन्दा मुस्लिम छन् । यिनीहरु धेरैजसो दक्षिण पूर्वी एसियाबाट आएकाहरु छन् ।
ममदानी भारतीय मूलका अमेरिकी हुन्, उनी क्वीन्समा बस्छन् । दक्षिण एसियाबाट आएकाहरु न्यूयोर्कको क्वीन्स क्षेत्रमा नै बसोबास गर्छन् । ममदानीले उनीहरुको पनि समर्थन पाउने देखिन्छ ।
उनको चुनावी नारा पनि उनीहरु लक्षित छ । ममदानीले आफू मेयर भएमा न्यूयोर्क शहरमा बढिरहेको जीवनयापन खर्च घटाउने घोषणा गरेका छन् ।
उनको भनाइ छ कि विश्वकै महंगो शहर न्यूयोर्कलाई सबैथरि मान्छे बस्न सक्ने बनाउनुपर्छ । ‘यो शहरमा चार जनामध्ये एक जना गरिब छन् । ५ लाख बालबालिका हरेक रात भोकै सुत्छन्’, उनले बीबीसीसँग भनेका छन् ।
शहरभरी निःशुल्क बस, सरकारी लगानीमा सुपथ मूल्यको पसल सञ्चालन गर्ने र ६ हप्तादेखि ५ वर्षसम्मका बालबालिकाका लागि विशेष शिशु स्याहार योजना सञ्चालन गर्ने उनको योजना छ ।
उनले आफ्नो चुनावी अभियानको भिडियो उर्दु, हिन्दी र स्पेनिस भाषामा पनि बनाएका छन् । उनले यसमार्फत आप्रवासी मतदातालाई आकर्षित गर्ने रणनीति बनाएको देखिन्छ ।
तर ममदानीले चुनाव जित्ने वा नजित्ने अहिले नै भन्न सकिँदैन । तर विश्लेषकहरु भन्छन्, यदि ममदानीले चुनावी अभियानका क्रममा ठूलो गल्ती गरेनन् भने उनी मेयर बन्न सक्छन् ।
किनकी न्यूयोर्क लोकतान्त्रिक शहर हो, ममदानीका प्रतिस्पर्धीका रुपमा देखिएका एरिक एडम्स, र एन्ड्रयु कुमोसँग ब्यागेज धेरै छ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)